पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङमा सामाजिक सञ्जालबाट हुने यौनिक तथा लैङ्गिक हिंसाको विषयमा कार्यक्रम सम्पन्न भएको छ । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारालक्षित कार्यक्रम गरिएको हो ।

मिलन म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र लुलाङ वडाको समन्वयमा बुधवार सम्पन्न कार्यक्रममा सूचना प्रविधिको प्रयोगमा सामाजिक सञ्जालबाट हुन सक्ने हिंसाको न्युनीकरणमा जोड दिइएको थियो । उक्त कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले सूचना, प्रविधि तथा यौनजन्य हिंसा र न्युनीकरणका उपायहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।

यसैगरी मिलन म्याग्दीका कार्यसमिति सदस्य विष्णुकुमारी रोकाले ८ मार्चको इतिहास, हालसम्मको उपलब्धि र चुनौतीहरु तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले लैङ्गिक हिंसा र आर्थिक सशक्तिकरण, बचत एवं बीमा गर्नुका फाइदाहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा मुना–ताकम प्रहरीचौकीबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रमको विषयमा जानकारी गराइएको थियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ अभियानको बारेमा पनि सहजीकरण तथा अन्तत्र्रिmया गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । कार्यक्रममा बालिकाहरुले कवितावाचन समेत गरेका थिए । सोही अवसरमा लुलाङ वडा कार्यालयको आयोजनामा लोकगीत प्रतियोगिता गरिएको थियो ।

कुल सातवटा टिम सहभागी प्रतियोगितामा चनुको समूह प्रथम, तिर्सनाको समूह द्वितीय र सोनियाको समूह तृतीय भएका थिएभने विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले पछिल्लो समय सामाजिक सञ्जालबाट विभिन्न हिंसाहरु बढ्दै गएकाले यसको प्रयोग गर्ने क्रममा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले अझै पनि लैङ्गिक हिंसा हुने गरेको हुँदा सबै मिलेर हिंसाको न्युनीकरण गर्नुपर्ने बताउँदै गाउँपालिकाले पनि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

लुलाङका वडा अध्यक्ष अकप्रसाद विकको अध्यक्षता र सचिव गिरिराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । गाउँ कार्यपालिका सदस्य फुलकुमारी बुढाथोकीको विशेष उपस्थिति रहेको कार्यक्रममा स्थानीय शिक्षक तथा आमा समूहले सहभागिता जनाएका थिए ।

Leave a Reply