उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा नेतृत्व विकास तथा उद्घोषणकलाको तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा व्यक्तिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेतृत्व तथा उद्घोषणसम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको थियो ।

तीन दिनसम्म चलेको तालिममा सूचना तथा प्रविधि, नेतृत्व विकास, क्षमता अभिवृद्धि, उद्घोषणकला, सकारात्मक सोच, उत्प्रेरणालगायत विविध विषयहरुमा सैद्धान्तिक प्रशिक्षण दिनुका साथै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिम समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घोषणकला तथा बोल्ने विषयमा आवश्यकताको आधारमा मात्रै बोल्नुपर्ने बताउनुभयो । उहाँले बोल्नका लागि नियमित रुपमा अभ्यास गरेमा सफल वक्ता बन्न सकिनेमा जोड दिनुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले तालिम अवधिभरमा सिकेका ज्ञान, सिप र अनुभवलाई आउँदा दिनहरुमा पूर्ण रुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिँदै आगामी दिनमा पनि उद्घोषणकलाको पुनर्ताजगी सम्बन्धी विषयमा तालिमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । तालिमको पत्रकार तथा अधिकारकर्मी सुष्मा पौडेल, अन्नपूर्ण गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत रमेश थापा र म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

तालिमका सहभागी तथा पालिकाको नायव पशु स्वास्थ्य प्राविधिक कामना पुन मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी अञ्जली पाईजा पुनले अनुभव सुनाउनुभएको थियो । तालिममा अन्नपूर्ण गाउँपालिकाको ८ वटा वडाबाट कुल ५५ जनाले सहभागिता जनाएका थिए ।

 

Leave a Reply