गण्डकी प्रदेश स्तरीय वक्तृत्वकलामा प्रकाश माविका समीर सुवेदीले प्रथम स्थान हासिल गरेका छन् । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले फागुन २६ गते गण्डकी प्रज्ञा प्रतिस्ठान पोखरामा सम्पन्न प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत वक्तृत्वकला तर्फ म्याग्दीको प्रतिनिधित्व गर्दै समीर सुवेदीले प्रथम स्थान हासिल गरेका हुन ।

शिक्षा विकास निर्देशनालय पोखराको निर्देशनमा शिक्षा विकास तथा समन्वय इकाइ म्यादीद्वारा आयोजित “हाम्रो शिक्षक राम्रो शिक्षक, विद्यार्थीको नजरमा शिक्षक “ विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भै प्रकाश मावि कक्षा १० का छात्र समीर सुबेदीले पोखरामा म्याग्दी जिल्लाको प्रतिनिधित्व गरेका थिए । गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लाका उत्कृष्टहरुलाई पछि पार्दै समिरले प्रदेश स्तरमै प्रथम स्थान हासिल गरेका हुन ।

शिक्षक विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत फागुन १९ र २० गते शिक्षा तथा समन्वय इकाई म्याग्दीको आयोजनामा विद्यार्थी वक्तृत्वकलामा प्रकाश मावि बेनीका समीर सुवेदी, विद्यार्थी लोकनृत्यमा प्रकाश मावि बेनीको समुह, शिक्षक हाजिरीजवाफमा मुक्तिधाम माविका शिक्षक समूह र शिक्षक लोकनृत्यमा बेनी सामुदायिक मावि बेनीको समूह प्रथम भै प्रदेश स्तरमा छनौट भएको थियो

विद्यार्थी र शिक्षक लोकनृत्य भने फागुन २७ गते सम्पन्न हुने र हरेक विधाका प्रथमले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १२ हजार र सान्वना स्थान हासिल गर्नेले ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने कुरा शिक्षा तथा समन्वय इकाई प्रमुख दल बहादुर थापा मगरले जानकारी गराउनु भयो । प्रकाश माविले पछिल्लो समय शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलामा समेत उपाधी जित्ने गरेको छ ।

Leave a Reply