बेनी अस्पताल म्याग्दीमा मोतियाविन्दुका बिरामीहरुका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा बेनी अस्पतालमा आगामी चैत ५, ६ र ७ गते बेनीमा शिविर सञ्चालन गर्न लागिएको हो ।

प्रत्येक वर्ष जिल्लाको विभिन्न स्थानमा निःशुल्क रुपमा आँखा शिविर सञ्चालन गरी अन्धोपन निवारण गर्ने उद्देश्यले अभियान जारी राखिएको छ । पछिल्लो समय मोतियाविन्दुका बिरामीहरुको संख्या धेरै भेटिएकाले जिल्लामै संघको आयोजनामा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर जिल्ला अस्पतालमा सञ्चालन गर्न लागिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिए ।

नेत्र ज्योति संघ म्याग्दीले मोना अष्ट्रेलियाको आर्थिक सहयोगमा धवलागिरी गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिकाको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सम्पन्न गरी शल्यक्रिया गर्नुपर्ने मोतियाविन्दुका बिरामीहरुको पहिचान गरेको जनाएको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका–८, राम्चे, वडा नं. ७, हिस्तान औल र वडा नं. ५ शिखमा आज, भोलि र पर्सि निःशुल्क रुपमा शिविर सञ्चालन हुने भएको छ । शिविरमा शल्यक्रिया गर्नुपर्ने खालका बिरामीहरुलाई बेनी अस्पतालमा बोलाएरु शल्यक्रिया गराइनेछ ।

विश्वभरी अन्धोपनको प्रमुख कारण मोतियाविन्दु रोग भएको र नेपालमा नेत्रको क्षेत्रमा अन्धोपनको समस्या निवारण गर्ने अभियान सञ्चालन गर्नका लागि वि.सं. २०३५ सालमा नेपाल नेत्र ज्योति संघको स्थापना गरिएको थियो । म्याग्दी जिल्लामा पनि अन्धोपन निवारण गर्ने अभियान सञ्चालन गर्नका लागि २०७६ सालमा संघको शाखा, नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दी स्थापना भई २०७७ श्रावणदेखि संघ अन्तरगतको बेनी नगरपालिका–८, क्याम्पसचोक, बेनीमा आँखा उपचार केन्द्र सञ्चालन गरी सेवा उपलब्ध गराइएको छ ।

अन्धोपनको समस्या सबैको साझा समस्या भएकाले जिल्लामा अन्धोपनको निवारण गर्न सबै पक्षहरुको साथ सहयोग आवश्यक रहेको र उक्त अभियान सफल बनाउन सबैसँग सहयोगको अपेक्षा समेत गरिएको नेत्र ज्योति संघका सचिव राजेन्द्रकुमार श्रेष्ठको भनाइ छ ।

Leave a Reply