म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ । महिलाको संवेदनशील अंगहरु मध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचारमा ध्यान नदिदाँ पाठेघरमा समस्या देखिएको हो ।

प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको आयोजना तृप्ति फाउण्डेशन अष्ट्रेलियाको आर्थिक तथा काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पहिलो चरणमा आयोजना गरिएको शिविरमा ७७ जना महिलामा पाठेघरको समस्या पहिचान भएको मोना आइइसीका सचिव सुबोध बरुवालले बताए ।

रघु्गंगा गाउँपालिकामा ३६२ महिलाले सेवा लिएकोमा ४२ जना र अन्नपूर्ण गाउँपालिकामा २६७ जनाले सेवा लिएकोमा ३५ जनामा समस्या देखिएको उनले बताए। त्यसैगरी रघुगंगामा ३ र अन्नपूर्णमा ४ गरी ७ जनामा स्तनमा गाँठागुठी भेटिएको थियो । महिलामा हुने स्तन क्यान्सरको प्रमुख लक्षण भनेको स्तनमा गाँठागुठी हुनु भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरका डा.किशोर प्रधानले बताए । ‘महिलाको अस्तित्वसँग जोडिएको पाठेघर र स्तनको सुरक्षामा हेल्चेक्राई गरिन्छ,‘समयमै चेकजाँच गरे उपचार सम्भव छ’ डा. प्रधानले भने ।

उनले महिलालाई हुने सबै क्यान्सरहरूमध्ये एक तिहाई स्तन क्यान्सर हुने भएकाले समयमै उपचार आवश्यक रहेको बताए। मोना आइइसीका उपाध्यक्ष सुर्जे भट्टचनले जिल्लाका सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने बताए ।

आर्थिक अभावका कारण तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएपनि उपचारका लागि लामो समयदेखि घरमै बस्न बाध्य भएको अन्नपूर्ण गाउँपालिका–१,दोवाकी ८६ बर्षिया दुर्गी बिकले बताईन् । उनले आफ्नो अपाङ छोरीको सेतो पानी बग्नेलगायतको समस्या लामो समयदेखि घरमै लुकाउन बाध्य भएको बताईन् ।

शिविरमा उचारका लागि आउने महिलाहरुमा पाठेघर खस्ने र स्तनको सुरक्षाका बारेमा समेत जानकारी गराइएको थियो । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम हुन्छ । पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेको पाइएको छ । मोना अन्तराष्ट्रियले बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा समेत शिविर सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply