म्याग्दी, फागुन २८ गते । वर्षौँदेखि उपभोग गर्दै आएको खानेपानीको मूलमा विवाद हुँदा बेनी नगरपालिका -१ रत्नेचौरका करिब चार सय घरधुरीमा पिउने पानीको अभाव भएको छ ।

रत्नेचौरवासीले उपभोग गर्दै आएको पानीको ट्याङ्की बागलुङ नगरपालिकाले भत्काइदिएपछि गाउँमा पानीको हाहाकार भएको हो । बागलुङ नगरपालिका -५ स्थित कमेरेको मूलको पानी बागलुङ नगरपालिकाले वडा नम्बर ४ उपल्लाचौरको बजारमा लैजान थालेपछि मूलका विषयमा दुई पक्षबीच विवाद भएको हो ।

बागलुङ नगरपालिकाले उक्त मुलको पानी वडा नम्बर ४ स्थित उपाल्लाचौरमा लैजाने योजना अगाडि बढाएको छ । २०२३ साल देखि पिउने पानीका रूपमा उपभोग गर्दै आएको उक्त मुलको पानी अहिले आएर बागलुङ नगरपालिकाले लैजान थालेको र पानीको ट्याङ्की भत्काइदिएका कारण गाउँमा पानीको हाहाकार भएको बेनी नगरपालिका -१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । “वर्षौँदेखि उपभोग गर्दै आएको पानी हामीसँग कुनै सरसल्लाह र सहमति नगरी लैजान थालेको हो”, उहाँले भन्नुभयो । “रत्नेचौरवासीले परापूर्वकालदेखि उक्त मुलको पानी उपभोग गर्दै आएका छन्,” वडाध्यक्ष थापाले भन्नुभयो, “अहिले आएर बागलुङ नगरपालिकाले जबरजस्ती हाम्रो ट्याङ्की नै भत्काइदिएका छन् ।

गाउँमा पानीको अभाव भएको छ । पानीको वैकल्पिक स्रोत नहुँदा तीनदिनयता पिउने पानीको हाहाकार भएको छ ।” बागलुङ बजारका लागि पानीका अन्य स्रोतहरू खोजी गर्नुपर्नेमा हामीले नै उपभोग गर्दै आएको मुलमा विवाद गर्नु राम्रो नभएको उहाँले बताउनुभयो । मुलमा निर्माण गरिएका दुई वटा ट्याङ्की बागलुङ नगरपालिकाले भत्काइदिएको र गाउँमा पानीको अभाव भएको कमेरे खानेपानी व्यवस्थापन समितिका सचिव टिकबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले परापुर्वकाल देखि नै कमेरेको मुलको पानी रत्नेचौरवासीले उपभोग गर्दै आएका छौँ । पानीको मुलमा हाम्रो हक कायम भएको छ ।” २०५४ सालमा पनि बागलुङवासी आएर मूल कब्जा गर्न थालेपछि गाउँलेको विरोधपछि उनीहरू पछि हटेको उहाँको भनाइ छ ।

बागलुङ पक्षले रत्नेचौरवासीले बनाएको ट्याङ्की भत्काएर पानी लैजान अर्को ट्याङ्की निर्माण गर्न थालेपछि अहिले दुवै पक्षबीच विवाद भएको छ । शनिबार पानीको मुलमा दुवै पक्षका सयौँ उपभोक्ताहरू भेला भएका थिए । मुलमा बागलुङ नगरपालिकाले निर्माण गर्न थालेको ट्याङ्कीको संरचना रत्नेचौरवासीले भत्काउन खोज्दा केहीबेर विवाद चर्किएको थियो । झडप नहोस् भनेर बागलुङबाट प्रहरीको टोलीसमेत परिचालन भएको थियो । पानीको वैकल्पिक स्रोत नभएको र यही मुलको व्यवस्थापन गरेर लैजाने योजना बनाएको बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले बताउनुभयो ।

“हामीले मुलको सबै पानी लैजान खोजेको होइन”, उहाँले भन्नुभयो “मुलको पानीलाई व्यवस्थित गरेर समझदारी अनुसार बाँडफाँड गर्न खोजेका हौँ । सबै पानी लैजाने खोजेका छैनौँ, ४२ प्रतिशत बागलुङलाई र बाँकी ५८ प्रतिशत पानी रत्नेचौरवासीलाई हुनेगरी लैजान खोजिएको हो ।” दुवै पक्षबीच आपसी समझदारी गरेर विवाद मिलाउने प्रयास भएको उहाँले बताउनुभयो । बागलुङ नगरपालिका ५ स्थित कमेरेको मुलमा भेला भएका दुवैपक्षका उपभोक्ताहरु । तस्विर : ठाकुरप्रसाद आचार्य ।

Leave a Reply