म्याग्दीको बेनी नगरपालिका–१, रत्नचौरवासीले वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहानको विषयलाई लिएर उत्पन्न विवाद चरम उत्कर्षमा पुगेको छ। रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५ कमेरेस्थित खानेपानीको मुहान बागलुङ नगरपालिका–४, उपल्लाचौरको बजारमा लैजान खोजिएको छ। बागलुङ नगरपालिकाको अगुवाइमा सो खानेपानीको मुहान भत्काइएपछि विवाद चर्किएको हो।

२०२३ सालदेखि खनाराम थापा र उनका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गर्दै आएको खानेपानी रत्नेचौरवासीको सहमतिबिनै ट्यांकी र मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि रत्नेचौरमा करिब एक सातादेखि खानेपानीको आपूर्ति बन्द भएको छ। बागलुङ नगरपालिका–४, उपल्लाचौरमा खानेपानी लैजान रत्नेचौरवासीले उपभोग गर्दै आएको मुहानमा अवरुद्ध गरिएको उपभोक्ता तिलकबहादुर महतले बताए। ‘२०२३ सालदेखि नै जग्गाधनीसँगको लिखित सहमतिमा हामीले कमेरेस्थित मुहानको पानी उपभोग गर्दै आइरहेका छौं। हामीसँग लिखित प्रमाण छ’,महतले भने।

महतका अनुसार २०२३ सालमा कुलो निर्माणमा कमेरे खानेपानीलाई देखाएर संरचना बनाइएको र कुलोबाट लगेको पानी रत्नेचौरवासीले उपभोग गर्दै आएका छन्। ‘रत्नेचौरवासीका लागि खानेपानीको वैकल्पिक स्रोत नै छैन। अहिलेको अवस्थामा सो मुहानबाट बागलुङ नगरपालिका–४ लाई पानी उपलब्ध गराउन सक्ने अवस्था छैन’,महतले भने। उनले विगतका कानुनी नजिर तथा सरकारी निर्णयमा समेत बागलुङ नगरपालिकामा खानेपानीको आवश्यकता परेमा रत्नेचौरवासीलाई प्रतिकूल असर नपर्नेगरी वैकल्पिक स्रोतको खोजी गर्ने सहमति भएको बताए।

खानेपानीको मुहानलाई लिएर यसअगाडि २०६२ सालमासमेत विवाद भएको थियो। विवाद भएपछि विगतका सहमतिलाई नै आधार मानेर अगाडि बढ्ने निर्णय भएको रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले बताए। ‘खानेपानीको संरचना नै भत्काएर सहमतिको वातावरण बिथोल्ने प्रयास भयो। उहाँहरू ( बागलुङ नगरपालिका–४, उपल्लाचौरवासी) लाई आसपासका क्षेत्रमा भएको अन्य मूल प्रयोग गर्न अनुरोध गरेका छौं’,वडाध्यक्ष थापाले भने। कमेरे मुहानको पानी रत्नेचौरका करिब ४ सय घरधुरीले प्रयोग गर्दै आइरहेका छन्।

बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले बागलुङमा खानेपानीको समस्या अधिक भएकाले वडा नम्बर ४, उपल्लाचौरवासीका लागि कमेरे मुहानको पानी लैजाने योजना बनाएको बताए। ‘मिलेर पानी प्रयोग गर्ने पक्षमा छौं। वार्ताबाटै टुंगोमा पुग्छौं’,उपमेयर खड्काले भने। उनले नगरपालिकाभित्र पानीको मूल खोजी भइरहेको बताए।

रत्नेचौरवासीले उपभोग गर्दै आएको खानेपानी अवरुद्ध भएपछि शनिबार पानीको मूलमा दुवैतिरका उपभोक्ता भेला भएका थिए। दुवैतर्फका जनप्रतिनिधि र प्रहरीको अगुवाइमा सम्भावित झडप टरेको थियो। रत्नेचौरवासीले आसपासमा प्रशस्तै मूल भए पनि आफूहरूले उपभोग प्रयोग गदैं आइरहेको मूललाई नै कब्जा गर्न खोजिएको बताएका छन्। बागलुङवासीले कमेरे मुहानको पानी ४२ प्रतिशत बागलुङलाई र ५८ प्रतिशत रत्नेचौरवासीलाई हुनेगरी सहमति गर्न तयार रहेको बताएका छन्।

बेनी नगरपालिका प्रमुख सुरत केसीले पछिल्लो बैठकमा मौखिक छलफल भएको र फेरि बस्ने सहमति भएको बताए। उनले रत्नेचौरवासीका लागि मूलको अर्को विकल्प नभएकाले कमेरेको मुहानमा आश्रित हुनुपरेको बताए। बागलुङ नगरपालिकाले कमेरे मुहानको विवाद टुंगो नलाग्दै त्यहाँको पानी लैजना चालु आर्थिक वर्षमा ५० लाख विनियोजन गरी काम अगाडि बढाएपछि विवाद उत्पन्न भएको हो।

सहमतिको प्रयास, बलप्रयोग गरी संरचना भत्काइयो

बागलुङ नगरपालिकाले खानोपनीको विवाद टुंगो नलाग्दैखानेपानी व्यवस्थापनका लागि चालू आर्थिक वर्षका लागि ५० लाख विनियोजन गरेर काम अगाडि बढाएको पाइएको छ । बागलुङ नगरपालिकाका मुख्य ४ वटा वडाहरू पर्ने बजार क्षेत्रलाई सहज आपूर्ती गर्ने छिमेकी बेनी नगरपालिका–१ रत्नेचौरबासीले प्रयोग गदैं आइरहेको खानेपानी मूललाई पूर्णरुपमा प्रयोग गर्ने प्रयास गरेपछि सुरू भएको विवाद समाधान नभई कुनैपनि योजना अगाडी नबढाउन भएको सहमति उल्लंघन गरिएको छ । बागलुङ र रत्नेचौरका उपभोक्ता बिच दुवै स्थानीय निकायका जनप्रतिनिधि, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको रोहवर भएका कुनैपनि छलफल टुंगिएको छैन् ।

जिल्ला समन्वय समिति म्यादीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, उप–प्रमुख राजु खड्का,बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, म्यादीका प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल,बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, बेनी नगरपालिका–१,रत्नेचौरका वडा अध्यक्ष टेक बहादुर थापा,बागलुङ नगरपालिका–४, का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, ५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा लगायत दुवै पक्षका उपभोक्ताको उपस्थितिमा गत बुधबार बागलुङ बजारमा बसेको संयुक्त बैठकमा उपस्थितीलाई नै आधार मानेर विना सहमति बागलुङ नगर प्रमुख श्रेष्ठले निर्णय गरेपछि विवाद झनै चर्किएको छ ।

जिल्लास्तरीय उच्चस्तरीय संयन्त्रले आपसी सहमतिमा समस्या समाधान भएको बागलुङतर्फबाट दावी गरिएपनि म्याग्दीतर्फबाट सहभागी भएको टोलीले कुनैपनि सहमति नभएको बताएको छ। दुई जिल्लाबासीको सम्बन्धलाई बलियो बनाउँदै कुनैपनि विवाद नहुने गरी तत्काल रत्नेचौरलाई नै खानेपानी प्रयोगमा सघाउन बेनी नगरपालिकाका जनप्रतिनिधिले अनुरोध गरेका छन् । बेनी नगरपालिका प्रमुख सुरत केसीले पछिल्लो बैठकमा मौखिक छलफल भएपनि पुनः एक पटक बैठक बस्ने गरि उठेको बताए ।

उनले रत्नेचौरबासीका लागि मूलको अर्को विकल्प नभएकालेसधैँ प्राथमिकतामा राखेको बताए । खानेपानी समस्या समाधान गर्न भन्दै दुवै जिल्लाका उच्चपदस्थ अधिकारीहरू जिल्ला प्रशासन कार्यालय म्याग्दीमा एक पटक र दुईपटक बागलुङमा बैठक बसेपनि सहमति नभएको रत्नेचौरका स्थानीय शिक्षक चिरञ्जीवि बोगटीले बताए । पहिलो बैठक फागुन ७ गतेसंयुक्त टोलीले मुहान निरीक्षण गरिएको थियो भने दोस्रो बैठक फागुन १५ गते जिल्ला प्रशासन कार्यालय म्यादीको सभाहलमा बसेको बैठकले दुवै पक्षका निर्णायक व्याक्तिहरुको उपस्थितिमा सहमति गर्ने भन्दै बैठक सकिएको थियो ।

त्यस्तै फागुन १७ गते बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्रविधिक जाँचमा प्रतिसेकेन्ड ७ लिटर पानी रहेकोमा प्रतिसेकेन्ड ४ लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी ३ लिटर बागलुङले प्रयोग गर्ने भने हिउँदका ४ महिना (फागुन देखि जेष्ठ) सम्म मुहानको कुल पानिको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने बागलुङ पक्षको प्रस्तावलाई म्याग्दीतर्फबाट प्रतिनिधित्व गरेको टोलीले थप छmलफल आवश्यक रहेको भन्दै विना निर्णय बैठक सकिएको थियो ।

 

Leave a Reply