म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ। महिलाको संवेदनशील अंगहरु मध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचारमा ध्यान नदिदाँ पाठेघरमा समस्या देखिएको हो।

प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको आयोजना तृप्ति फाउण्डेशन अष्ट्रेलियाको आर्थिक तथा काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पहिलो चरणमा आयोजना गरिएको शिविरमा ७७ जना महिलामा पाठेघरको समस्या पहिचान भएको मोना आइइसीका सचिव सुबोध बरुवालले बताए।

रघु्गंगा गाउँपालिकामा ३६२ महिलाले सेवा लिएकोमा ४२ जना र अन्नपूर्ण गाउँपालिकामा २६७ जनाले सेवा लिएकोमा ३५ जनामा समस्या देखिएको उनले बताए। त्यसैगरी रघुगंगामा ३ र अन्नपूर्णमा ४ गरी ७ जनामा स्तनमा गाँठागुठी भेटिएको थियो।

Adv

पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समय समयमा चेकजाँच गरी उपचार गर्नुपर्ने काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरका डा.किशोर प्रधानले बताए। ‘महिलाको अस्तित्वसँग जोडिएको पाठेघर र स्तनको सुरक्षामा हेल्चेक्राई गरिन्छ,‘समयमै चेकजाँच गरे उपचार सम्भव छ’ डा. प्रधानले भने।

उनले महिलालाई हुने सबै क्यान्सरहरूमध्ये एक तिहाई स्तन क्यान्सर हुने भएकाले समयमै उपचार आवश्यक रहेको बताए। महिलामा हुने स्तन क्यान्सरको प्रमुख लक्षण भनेको  स्तनमा गाँठागुठी हुनु भएको डा. प्रधानको भनाई छ। मोना आइइसीका उपाध्यक्ष सुर्जे भट्टचनले जिल्लाका सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने बताए। आर्थिक अभावका कारण तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएपनि उपचारका लागि लामो समयदेखि घरमै बस्न बाध्य भएको अन्नपूर्ण गाउँपालिका–१,दोवाकी ८६ बर्षिया दुर्गी बिकले बताइन्।

उनले आफ्नो अपाङ छोरीको सेतो पानी बग्नेलगायतको समस्या लामो समयदेखि घरमै लुकाउन बाध्य भएको बताइन्। शिविरमा उचारका लागि आउने महिलाहरुमा पाठेघर खस्ने र स्तनको सुरक्षाका बारेमा समेत जानकारी गराइएको थियो। कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम हुन्छ।

पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर उपचार गरिएको मोना आइइसीका अध्यक्ष अम्मर छन्त्यालले बताए। उनले मोना अन्तराष्ट्रियले बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा समेत शिविर सञ्चालन गर्ने जनाएको छ।

Leave a Reply