पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको लागी विद्यार्थीको चहलपहल बढेको छ । विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेपछि उम्मेदवार सहित संगठनका कार्यकर्ताबीच दौडधुप र आन्तरिक गृहकार्य शुरु भएको हो ।

मंगला शिक्षा क्याम्पसको निर्वाचन समितिको कार्यालयले जारी गरेको अन्तिम नामावलीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट अध्यक्ष पदमा भिममायाँ रोका, नेपाल विद्यार्थी संघबाट अध्यक्षमा गौरव आर्चायले उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियूको तर्फबाट सचिवमा रविन शाही र अखिल क्रान्तिकारीबाट पस्मिता रोकाको उम्मेदवारी परेको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताए । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियूको तर्फबाट तारा राना,नेविसंघबाट प्रविणा क्षत्री घर्तीको उम्मेदवारी परेको छ।

सदरमुकाम बेनीबजार बाहिर रहेको जिल्लाको एक मात्रै क्याम्पसमा यसपटक सदस्य पदका लागि अनेरास्ववियूको तर्फबाट मेघ घर्ती मगर, विन्दा रोका, सजिना सुबेदी, इश्वरी फगामी, यू मायाँ दर्जी रहेका छन् भने अखिल क्रान्तिकारीबाट एलिना रोकाको उम्मेदवारी परेको छ ।

पश्चिम क्षेत्रको शैक्षिक धरोहर मानिएको क्याम्पसमा बर्चश्व कायम गर्ने तयारीमा अनेरास्ववियू जुटेको छ भने गठबन्धन गरेका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले जित दर्ता गर्न लागि परेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई विभिन्न माध्यमबाट तीनवटै संगठननले भेटघाट, अनौपचारिक भेला, छलफलको कार्य शुरु गरेका बताएका छन् ।

चुनावी रणनीतिको लागी सकृय हुन थालेपछि बावियाचौर आसपासमा विस्तारै माहोल बनेको छ । तीनवटै संगठनले चुनावी एजेण्डा सार्वजनिक नगरेपनि क्याम्पसले सुरु गरेको क्यूएए प्राप्तीको अभियानमा स्ववियूमार्फत काम गर्ने प्रमुख लक्ष्य रहेको बताएका छन् भने विद्यार्थी संख्या बढाउने, विद्यार्थीको हित अनुकुलका कार्यहरु गर्ने रहेको बताएका छन् ।

मंगला शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्रीले स्ववियू निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्ने सबै संगठनको सकारात्मक प्रयास रहेको बताए । उनले स्ववियू निर्वाचनपछि क्याम्पसका शैक्षिक, भौतिक तथा अन्य योजनाहरुमा समेत विद्यार्थी यूनियनसँग सहकार्य गर्न सहज हुने बताए ।

Leave a Reply