मेलबर्न — सिड्नीको बेनी एफसीले १२ औं कँडेल कन्सेल्टेन्सी कप फुटबल प्रतियोगिता जितेको छ । यती नेसनल च्याम्पियनसिप नामले चिनिने प्रतियोगिताको आइतबार फाइनलमा नेपालका राष्ट्रिय खेलाडीले भरिएको बेनीले सिड्नीकै फेवा एफसीलाई सडनडेथमा पराजित गरेको हो ।

डेरबिन इन्टरनेसनल स्पोर्ट्स सेन्टरमा निर्धारित ३० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि निर्णय पेनाल्टी शुटआउटमा गरियो । ३–३ पेनाल्टी शुटआउटमा पनि कुनै निर्णय नआएपछि सडनडेथमा बेनीका विशाल राईले गोल गरे पनि फेवाका सुरेन क्षेत्रीको प्रहार बेनीका गोलरक्षक विवेक अधिकारीले रोकेका थिए ।

यसअघि पेनाल्टीमा बेनीका सुमन अर्याल, पीयूष ढकाल, हेमन गुरुङ तथा फेवाका विमल राना, सुनील दुरा र हेमन्त थापामगरले गोल गरेका थिए । विजेता बेनीले ६ हजार र फेवाले ३ हजार अस्ट्रेलियन डलरसहित ट्रफी जिते । फेवाका विमल राना प्लेयर अफ द फाइनल बने ।

तेस्रो भएको मेलबर्नको युनाइटेड एफसीले १ हजार ५ सय अस्ट्रेलियन डलर पायो । प्लेअफमा युनाइटेडले सेन्ट जर्ज क्लब सिड्नीलाई ५–० ले हरायो । युनाइटेडबाट दर्शन गुरुङले २, विश्व गुरुङ, सन्तोष तामाङ र साजन थापामगरले १–१ गोल गरे ।

बेनीका विवेक अधिकारी उत्कृष्ट गोलरक्षकमा चुनिए । बेनीकै हेमन गुरुङ उत्कृष्ट खेलाडी बने । युनाइटेडका दर्शन गुरुङ, द राइजिङ गुर्खाजका रमेश बस्नेत, फेवाका विमल राना र बेनीका अभिषेक रिजाल ६–६ गोल गर्दै सर्वाधिक गोलकर्ता बने । सबै विधाका उत्कृष्टलाई २ सय ५० अस्ट्रेलियन डलर प्रदान गरियो ।

सन् २००१ मा मेलबर्नमा स्थापित यती एफसीले नेपाली समुदायबीच आयोजना गरेको दुईदिने यस प्रतियोगितामा सिड्नी, मेलबर्न, ब्रिसवेन, एडिलेड, क्यानबेराका २४ टोली सहभागी थिए । प्रतिस्पर्धीलाई ६ समूहमा विभाजन गरेर नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो ।

फरेभर योङ (३५ वर्ष माथि) तर्फ आयोजक यती एफसी नै विजेता बन्यो । यतीले फाइनलमा सेन्ट जर्जलाई २–० ले पराजित गर्‍यो । श्रवन श्रेष्ठ र विशाल गुरुडले गोल गरे । विजेताले १ हजार ५ सय र उपविजेताले १ हजार अस्ट्रेलियन डलर ट्रफी प्रदान गरियो । यस इभेन्टमा सिड्नी, मेलबर्न, एडेलेड र ब्रिसबेनका १० टोली सहभागि थिए ।

यतीका नीराजन गुरुङ प्लेयर अफ द फाइनल, यतीकै साजन श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा क्विन्सल्यान्ड नेप्लिज एफसी ब्रिसवेनका देव कुमार, म्याकआर्थुर नेप्लिज एफसी सिड्नीका राजेश श्रेष्ठले उच्च गोलकर्ताको पुरस्कार पाए । दुबैले समान ५ गोल गरेका थिए ।

सोही अवसरमा बालबालिकाका लागि किड्स क्लिनिक गरिएको थियो । ५० बालबालिकालाई ‘ए’ लिगका टोली मेलबर्न भिक्टोर्सका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए । ekantipur

Leave a Reply