म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।

स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि क्याम्पस प्रशासनले अर्को सूचना जारी नभए सम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको हो । स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन कार्यालयमा सोमबार तालाबन्दी गरेको थियो ।

तालाबन्दीका विषयमा लिएर मंगलबार क्याम्पस सञ्चालक समिति,प्रशासन,निर्वाचन समिति र स्ववियु निर्वाचन २०७९ का लागि दर्तावाला संघसंगठनका प्रतिनिधिहरुबीच भएको वैठकको निर्णय बमोजिम बुधवार विहान ११ बजे सम्म विद्यार्थी संंघ संगठनहरुलाई सहमति गर्ने समयावधि तोकिएकोमा उक्त समयभित्र सहमति कायम भएको सूचना नआएकाले निर्वाचनका कार्यक्रमहरु स्थगित गरिएको क्याम्पस प्रमुख गोरख बहादुर जिसीले बताए ।

‘अनिश्चितकालका लागि स्थगित भएको छ,‘निर्वाचनमा सहभागी हुने विद्यार्थी संगठनकै मत बाझिएपछि सूचना जारी गरेका छौ’ क्याम्पस प्रमुख जिसीले भने । यसैगरी मंगला गाउँपालिका स्थित बाबियाँचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले बहिस्कार गरेको छ ।

निर्वाचनका बारेमा क्याम्पस प्रशासनले जानकारी नदिएको, गलत सूचना दिएको, विद्यार्थी भर्नाका बारेमा प्रष्ट सूचना दिन आनकानी गरेको, मनोनयन दर्ता सहित अन्य प्रक्रियामा क्याम्पसमा अनुपस्थित भएको भन्दै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै चुनाव बहिष्कारको घोषणा गरेका हुन ।

निर्वाचन अधिकृतकको कार्यालयमा तालाबन्दी गदैं निर्वाचन सम्बन्धि गतिविधिमा असहमति भएको र विद्यार्थी मैत्री वातावरण नभएको दुबै संगठनले आरोप लगाएका छन् । यता क्याम्पस प्रशासनले भने विद्यार्थीको आरोपको खण्डन गरेको छ । क्याम्पसमा नियमित निर्वाचनको तालिका अनुुसार नै अगाडी बढ्ने जनाएको छ ।

Leave a Reply