पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा तोकिएकै समयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ। निर्वाचन कार्यालयमा गरिएको तालाबन्दी खुलेपछि बसेको सञ्चालक समितिको बैठकले चैत्र ५ अर्थात आइतबार निर्धारित समयमै निर्वाचनको प्रक्रिया अगाडी बढाउने सहमति भएको क्याम्पसका प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।

‘कुनैपनि तालिका हेरफेर भएको छैन,‘समयमै चुनाव गर्ने विषयमा उम्मेदवारले समेत सहमति जनाएका छन्’ प्रमुख खत्रीले भन्नुभयो । सञ्चालक समितिले निर्वाचन कार्यालयलाई तोकिएको समयमै चुनाव गर्ने निर्देशन दिएपछि बाँकी प्रक्रिया अगाडी बढेको हो।

क्याम्पसको निर्वाचन समितिको कार्यालयले जारी गरेको अन्तिम नामावलीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट अध्यक्ष पदमा भिममायाँ रोका, नेपाल विद्यार्थी संगठनबाट अध्यक्षमा गौरव आर्चाय भिड्ने छन् ।

अनेरास्ववियूको तर्फबाट सचिवमा रविन शाही र अखिल क्रान्तिकारीबाट पस्मिता रोकाको उम्मेदवारी परेको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताए । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियूको तर्फबाट कोषाध्यक्षमा तारा राना र नेविसंघबाट प्रविणा क्षत्री घर्तीको उम्मेदवारी परेको छ ।

सदरमुकाम बेनीबजार बाहिर रहेको जिल्लाको एक मात्रै क्याम्पसमा यसपटक सदस्य पदका लागि अनेरास्ववियूको तर्फबाट मेघ घर्ती मगर, विन्दा रोका, सजिना सुबेदी, इश्वरी फगामी, यू मायाँ दर्जी रहेका छन् भने अखिल क्रान्तिकारीबाट एलिना रोका रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

पश्चिम क्षेत्रको शैक्षिक धरोहर मानिएको क्याम्पसले क्यूएए प्राप्तीको अभियानमा स्ववियूमार्फत काम गर्ने प्रमुख लक्ष्य सहित विद्यार्थीको हकहितका लागि काम गर्ने बताएका छन् ।

स्ववियू निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्ने सबै संगठनको सकारात्मक सहयोगको अपेक्षा निर्वाचन कार्यालयले गरेको छ । स्ववियू निर्वाचनपछि क्याम्पसका शैक्षिक, भौतिक तथा अन्य योजनाहरुमा समेत विद्यार्थी यूनियनसँग सहकार्य गर्न सहज हुने क्याम्पसले जनाएको छ । यता म्याग्दी बहुमुखी क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ ।

Leave a Reply