नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा आँखामा लाग्ने मोतियोविन्दु रोगको निःशुल्क शल्यक्रिया शिविर हुने भएको छ । यही चैत ५, ६ र ७ गते म्याग्दी सदरमुकाम बेनी अस्पतालमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्न लागिएको हो ।

शिविरमा विभिन्न स्थानीय तहमा सञ्चालित शिविरबाट पहिचान भएका मोतियाविन्दुका ४७ जनाको निःशुल्क शल्यक्रिया गरिने नेत्रज्योति संघ म्याग्दी शाखाका सभापति अमर बानियाँले जानकारी दिए । नेत्रज्योति संघको आयोजना, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग र बेनी अस्पतालको समन्वयमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा आँखा परीक्षणलगायत सेवाहरु उपलब्ध गराइने उनले बताएका छन् ।

मोतियाविन्दुको शल्यक्रिया शिविर तथा यसअघि वडास्तरमा आयोजना गरिएको आँखा शिविरको बारेमा हिँजो (बुधवार) नेत्रज्योति संघको आयोजनामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराइएको थियो । गएको फागुनमा नेत्रज्योति संघको आयोजना र स्थानीय पालिकाको सहयोगमा रघुगंगा गाउँपालिकाको पाखापानीमा ५ जना, मंगलाको कँुहुमा ५ जना, बरंजामा ४ जना, अन्नपूर्णको शिखमा ६ जना, हिस्तानमा ६ जना र राम्चेमा ५ जना गरी ३१ जनामा मोतियाविन्दु रोगको पहिचान भएको थियो ।

यसैगरी संघको आयोजना र मोना अष्ट्रेलियाको समन्वयमा असोज २९, ३० र ३१ गते आयोजना गरिएको शिविरबाट रघुगंगाको भगवतीमा १० जना र अन्नपूर्णको पोखरेबगरमा ६ जना गरी १६ जनामा मोतियोविन्दुको पहिचान भएको नेत्रज्योति संघ म्याग्दीका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताए । शिविरमा पहिचान भएका मोतियाविन्दु रोगको बेनीमा हुने शिविरमा शल्यक्रिया गरिनेछ ।

त्यस्तै ६ गते बेनी अस्पतालमा सञ्चालन हुने शिविरमा बेनी क्षेत्रका बिरामीहरुको पनि मोतियाविन्दु पहिचान गरेर शल्यक्रिया गरिने जनाइएको छ । म्याग्दी जिल्लाको विभिन्न ठाउँमा सञ्चालन गरिएका आँखा शिविरले गाउँ–गाउँमा मोतियाविन्दु, जलविन्दु, खस्रेरोग र ४० वर्ष कटेपछि आँखा कमजोर हुँदै जाने समस्या बढी देखिएको संघमार्फत सञ्चालित आँखा उपचार केन्द्र बेनीका नेत्र अधिकृत दिनेश बानियाँले बताए । समुदायबाट अन्धोपन निवारण गर्ने अभियानअन्तर्गत ग्रामीण क्षेत्रमा आाँखा शिविर सञ्चालन गरिएको थियो ।

Leave a Reply