म्याग्दीको विकट मानिने धवलागिरी गाउँपालिका–५मलम्पारमा पहिलोपटक यात्रुबाहक बस पुगेको छ । धवलागिरी–६,मराङको मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा मिनी बस नै सञ्चालन हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । यात्रु सहित पहिलो पटक गाउँमा पुगेको ध १ ख ११७ नम्बरको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारबासीले फुलमाला लगाएर भब्य स्वागत तथा सम्मान गरेका छन् ।

धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुदै वडा नम्बर ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको वडा अध्यक्ष अमर छन्त्यालले बताए ।‘यात्रा छोटिएको छ,स्थानीयलाई आवतजावतमा सहज हुन्छ’ वडा अध्यक्ष छन्त्यालले भने ।

उनका अनुुसार गत वर्ष मराङ हुदै बुल र मल्कवाङ देखि दैडाडामा पुगेको सडकलाई यसपाली जोडेर वडा नम्बर ५ र ६ को चक्रपथ बनाइएको थियो ।

मल्कवाङ–मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले २५ लाख र प्रदेश सरकारबाट १० लाख बजेट बिनियोजन गरी पाँच किलोमिटर नयाँ मार्ग निर्माण भएको थियो । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको डेढ घण्टाको बाटो करिब आधा घण्टामा छोटिएको स्थानीय यूवा मिलन छन्त्यालले बताए ।

मलम्पारका १५० घरधुरी सडकबाट लाभान्वित भएका छन् । स्थानीयलाई आवतजावतसँगै स्थानीय उत्पादनलाई समेत बजारीकरण गर्न सहज भएको छ। मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडिवुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।

Leave a Reply