म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरकी पार्वती बानियाँलाई आँखा बन्द भएपछि दिनपनि रात जस्तै लाग्थ्यो । देब्रे आँखा ४ बर्ष अगाडी र दाहिने करिब दुई बर्ष अगाडी बन्द भयो। दुबै आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म श्रीमान डेकबहादुर बानियाँको सहयोगमा पुग्ने गर्दथीन।

आँखा बन्द भएपछि श्रीमान बानियाँ र परिवारका अन्य सदस्य र छिमेकीलाई समेत देख्न नपाएकी पार्वतीले दुईबर्ष निकै कष्टपूर्ण तरिकाले विताइन् । बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेपछि पार्वतीले दुईबर्षपछि श्रीमानको अनुहार देखेर भाबुक भईन्।‘अन्धकारमा दिन विताइरहेको थिए, अहिले उज्यालो भएको छ,पहिलो त रातदिन एकै लाग्थ्यो’ पार्वतीले भनिन्। उनले अव नयाँ आँखाबाट हेर्ने र नियमित घरायसी काम गर्ने बताईन्।

अन्नपूर्ण गाउँपालिका–६,घारकी सरस्वती बरुवालले दुई बर्षपछि श्रीमान नरबहादुर बरुवालको अनुहार देखे। दुवै आँखा बन्द भएर घरमै थलिएकी सरस्वतीलाई श्रीमान नरबहादुरले शिविरमा ल्याएका थिए।श्रीमानको साहरामा शिविरसम्म आएकी पार्वती र सरस्वतीले मोतियाविन्दुको शल्यक्रियापछि आफ्नै खुट्टाले हिडेर घर फर्किए । अन्नपूर्ण–८ नांगीकी ७५ बर्षिया सतिमा गर्बुजाले आँखा बन्द भएको तीन बर्षपछि खुलेको बताईन् ।‘शरीर र हात पाखुरासँगै आँखाले पनि धोका दियो,‘आज उपचारपछि निकै खुसी लागेको छ’ गर्बुजाले भनिन्।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र पोखरा व्यावसायिक महिला क्लबको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा भएको मोतियाविन्दुको शिविरमा उराठ र पट्यारलाग्दो बुढ्यौली उमेरमा आँखा खुलेपछि बृद्धबृद्धामा छाएको थियो।

‘बोकेर ल्याइएका बिरामीहरू उपचारपछि आफ्नै खुट्टामा हिडेर गए,‘आँखा बन्द भएपछि घरको चौघेराभित्र कैद भएर बस्नु भएकाहरूको खुसी नै हाम्रो सेवा हो। भविस्यमा पनि शिविरलाई निरन्तरता दिनेछौ’,अध्यक्ष बानियाँले भने । शिविर आइतबार र सोमबार ४९ जनाको मोतियाविन्दुको शल्यक्रिया,७ सय भन्दा बढीले आँखाको उपचार सेवा लिएका थिए। शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा.अन्जु गुरुङ नेतृत्वको ८ जनाको टोलीले बिरामीहरुमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गरारहेका छन्।

गएको फागुनमा नेत्रज्योति संघको आयोजना र स्थानीय पालिकाको सहयोगमा रघुगंगा गाउँपालिकाको पाखापानीमा ५ जना,मंगलाको कँुहुमा ५ जना, बरंजामा ४ जना, अन्नपूर्णको शिखमा ६ जना,हिस्तानमा ६ जना र राम्चेमा ५ जना गरी ३१ जनामा मोतियाविन्दु रोगको पहिचान भएको थियो ।

यसैगरी संघको आयोजना र मोना अष्ट्रेलियाको समन्वयमा असोज २९, ३० र ३१ गते आयोजना गरिएको शिविरबाट रघुगंगाको भगवतीमा १० जना र अन्नपूर्णको पोखरेबगरमा ६ जना गरी १६ जनामा मोतियोविन्दुको पहिचान भएपछि शल्यक्रिया शिविरको आयोजना गरिएको नेत्रज्योति संघ म्याग्दीका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताए । म्याग्दी जिल्लाको विभिन्न ठाउँमा सञ्चालन गरिएका आँखा शिविरले गाउँ–गाउँमा मोतियाविन्दु, जलविन्दु, खस्रेरोग र ४० वर्ष कटेपछि आँखा कमजोर हुँदै जाने समस्या बढी देखिएको थियो।

Leave a Reply