म्याग्दीको बेनीका ८४ वर्षिय दलबहादुर खड्का जीवनमै सवैभन्दा बढी खुसी छन् । विगत पाँच वर्षदेखि मधुरो मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा बुधवार सम्पन्न तीन दिने निःशुल्क आँखाको शल्य क्रिया शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्नसक्ने भएका हुन् ।

जिल्लाको बेनी नगरपालिका-२ खबराका खड्का शल्यक्रिया पश्चात स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकहरुसँग गीत गाएर नाँच्दै खुसी व्यक्त गर्नुभयो । डाक्टरले आँखाको शल्यक्रिया गरेपछि स्पष्ट रुपमा आँखा देख्ने भएको खड्काले बताए ।
त्यसैगरी बेनी नगरपालिका-९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया पछि आँखा देखेको खुसीमा चिकित्सककै अघि नाचेर रमाइलो गरे ।

खड्का र विकजस्तै ८२ जना बृद्धबृद्धाहरु बुधवार (आज) शल्यक्रिया पछि आँखाले संसार हेर्न पाउँदा दंग परेका छन् ।
बेनी अस्पतालमा चैत ५ गतेदेखि संचालन भएको शिविरमा ८२ जना मोतियाविन्दुको शल्यक्रिया गरिएको नेत्र ज्योती संघ म्याग्दीका सभापति अमरबहादुर बानियाँले बताए । “धेरै मोतियाविन्दु बृद्धबृद्धामा देखिएको छ, मोतियाविन्दु भेटिएका सबैको शल्यक्रिया गरिएको छ” उनले भने ।

नेत्र ज्योती संघ म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र माईकल बाउर एण्ड फ्रेण्ड, बाडेन बाडेन जर्मनीको आर्थिक सहयोगमा सम्पन्न शिविरबाट ८ सय ६९ जनाको आँखाको परिक्षण गरिएको नेपाल नेत्र ज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले जानकारी दिए । गाउँगाउँमा नेत्र ज्योती संघले आयोजना गरेको शिविरबाट भेटिएका मोतियाविन्दुको शल्यक्रिया पनि बेनीमा संचालित शिविरमा गरिएको उनको भनाइ थियो ।

बेनी नगरपालिका–५ की ७० वर्षीया पार्वती बानियाँले देख्न छाडेको ३ वर्ष भए पनि मोतियाबिन्दुको शल्यक्रिया गरेकी थिइनन् ।“पोखरा जाने समय र पैसा नहुँदा मोतियाबिन्दुको शल्यक्रिया गर्न सकेकी थिइनँ,” उनले भनिन् “बेनीमा मोतियाबिन्दुको शिविर सञ्चालन भएपछि गुमेको ज्योति सस्तोमा शल्यक्रिया गरेर फर्कियो ।”

यसअघि गत असोजमा १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्न पोखरा जाने झन्झट अन्त्य भएको संघका सचिव राजेन्द्र श्रेष्ठले बताए ।“एकजनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र ३ दिन लाग्छ। शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ,” उनले भने ।

धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाबिन्दु र जलबिन्दु हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाइ सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको सुझाव छ ।शिविरमा हिमालय आँखा अस्पताल पोखरबाट ६ जनासहित ८ जनाको प्राविधिक टोलीले आँखा परिक्षण र मोतियाविन्दुको शल्यक्रिया गरेका थिए । नेत्र ज्योती संघले शिविर सम्पन्न गराउन सहयोग गर्नुहुने प्राविधिक टोली र सहयोग दातालाई सम्मान गरेको छ ।

स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा २ हजार २ सयको नेत्र परीक्षण गरिएको अध्यक्ष बानियाँले जानकारी दिए । “गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ,” उनले भने ।

रघुगंगा गाउँपालिकाको पाखापानी, मंगलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो ।हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले उपचार गरेका थिए ।

Leave a Reply