म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट ८ सय ६९ जना आँखाका विभिन्न रोगी तथा बिरामीहरु लाभान्वित भएका छन् । बेनी अस्पताल म्याग्दीको परिसरमा तीन दिनसम्म सञ्चालित शिविरबाट सर्वसाधारण र बिरामीहरु लाभान्वित भएका हुन् ।

गएको आइतबारदेखि मङ्गलवार (चैत ५ देखि ७) गतेसम्म सञ्चालित निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा लागेको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ । तीमध्ये ३ जना रोगीहरुको दुवै आँखामा मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो ।

पोखरा व्यावसायिक महिला क्लब र नेत्रज्योति संघ म्याग्दी शाखाको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो । शिविरको पहिलो दिन आइतबार १६ जना, दोस्रो दिन सोमबार ३२ जना र तेस्रो तथा अन्तिम दिन मङ्गलवार ३४ जनामा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो ।

जिल्लामै मोतियोविन्दुको शल्यक्रिया गरेर आँखा देखेपछि ज्येष्ठनागरिक र सर्वसाधारणहरु खुसी भएर घर फर्किएका छन् ।
निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको पहिलो दिन ३ सय १३ जना, दोस्रो दिन ३ सय ५९ र तेस्रो दिनमा १ सय ९७ जनाले आँखाको चेकजाँच गर्नुका साथै परामर्श सेवा लिएका थिए ।

शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डाक्टर अन्जु गुरुङको नेतृत्वमा ८ जनाको टोलीले बिरामीहरुमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गराएको थियो । आँखा जाँच शिविरमा बिरामीहरुलाई निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिएको थियो।

यसैगरी शिविरमा आएका सर्वसाधारण तथा बिरामीहरुमा आँखासम्बन्धी अन्य रोगको समेत पहिचान गरिएको छ भने थप उपचारका लागि रिफर गरिएको आँखा उपचार केन्द्रका प्रमुख एवं नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो ।

तीन दिनसम्म चलेको शिविरलाई सफल बनाउन प्राविधिक तथा व्यवस्थापनलगायत आवश्यक सहयोग पु¥याउनेहरुलाई नेपाल नेत्रज्योति संघ म्याग्दी तथा पोखरा व्यावसायिक महिला क्लबबाट सम्मानपत्र र मायाको चिनो वितरण गरी सम्मान गरिएको थियो । शिविरमा प्राविधिक टोली हिमालय आँखा अस्पतालको स्वास्थ्यकर्मीको टिम, बेनी अस्पताल, आँखा उपचार केन्द्र, म्याग्दी जेसीज र म्याग्दी बहुमुखी क्याम्पसबाट खटिएका स्वयंसेवक विद्यार्थीहरुलाई सम्मानपत्र तथा मायाको चिनो वितरण गरिएको थियो ।

आज (बुधवार) सम्पन्न निःशुल्क आँखा जाँच शिविरको समापनसत्रमा हिमालय आँखा अस्पताल घारीपाटन पोखराका बाह्य कार्यक्रम प्रमुख सुवास नेपाल, पोखरा व्यावसायिक महिला क्लबका सचिव ईन्दु भट्टराई, बेनी अस्पतालका मेडिकल अधिकृत डा. भारती मेहताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल नेत्रज्योति संघ म्याग्दीका सभापति अमर बानियाँको अध्यक्षता र सचिव राजेन्द्रकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । समुदायस्तरमा रहेको अन्धोपन निवारण गर्ने उद्देश्यसहित नेत्रज्योति संघ र पोखरा व्यावसायिक महिला क्लबको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

यसैबीच शिविरमा दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्न आउनुभएकी बेनी नगरपालिका–५, पुलाचौरकी पार्वती बानियाँको परिवारलाई पोखरा व्यावसायिक महिला क्लबले गाडीमार्फत घरमै पु¥याएर चारहजार पाँचसय रुपैयाँ बराबरको दैनिक उपभोग्य तथा खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

त्यस्तै क्लबमार्फत शिविरमा भर्ना भई अस्पतालमा उपचाररत आँखाका बिरामीहरुलाई खाजा र खाना खुवाउनुका साथै मोतियाविन्दुको शल्यक्रिया गरेका तीनजना ज्येष्ठनागरि (एकल) पुरुषलाई कपडा किनेर दिइएको छ । उनीहरुलाई आर्थिक सहयोग समेत गरिएको महिला क्लबका सदस्य रजनी श्रेष्ठले बताउनुभयो ।

Leave a Reply