एकल पुरुषको मुख्य सहारा आँखाको दृष्टि फर्कियो

बेनी नगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका थियो । दिलबहादुरको दुईबर्ष अगाडी शरीरको महत्वपूर्ण अंग आँखाको देख्ने ढकनी बिस्तारै बन्द हुँदै गए। दुबै आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म आफन्तको साहरामा पुग्ने गर्दथे ।७३ वर्षीय भिमबहादुर थापा र ६६ बर्षिय समबहादुर थापा आँखा बन्द भएपछि करिब दुई वर्ष निकै कष्टपूर्ण तरिकाले विताए ।

तीनै जना एकल पुरुष हुन् । श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा सुखःदुखका लागि एकदम आवश्यक भएपनि उनीहरूले पाखुरामा बल हुदाँसम्म मजदुरी गरी एकल जीवन विताए । समाजमा एकल पुरुष पनि साहराविहीन जस्तै भएको महसुस बुढेकालमा आँखा नै बन्द भएपछि उनीहरूले महसुस गरेका थिए ।

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट दुबै आँखा खुलेपछि बृद्धहरूमा छुट्टै चमक देखिन्छ । आँखा बन्द भएपछि दिनपनि रातजस्तै मानेर बिताउन परेकाहरु लाई मोतियाविन्दुको शल्यक्रियाले संसारलाई फेरी हेर्न मौका पाएका छन् ।

‘अब पकाएर खान सक्छु, मागेर ज्यान पाल्न पनि सक्छु’, बृद्ध दिलबहादुरले भने । उनले आँखा खुलेपछि तन्नेरी महसुस भएको बताउँदै घरायसी काम गर्न सक्ने भएर फर्किएको बताए । ‘अब मैले नयाँ आँखाबाट सबैलाई हेर्न पाउँछु,जीवनको अन्तिम इच्छा पनि पूरा भयो’। बृद्ध भिमबहादुरले भने । उनले आफ्नो साहरा एउटा लौरो र अब आँखा भएको बताए ।

पोखरा व्यावसायिक महिला क्लब र नेत्रज्योति संघ म्याग्दी शाखाको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा गएको आइतबारदेखि मङ्गलवार (चैत ५ देखि ७) गतेसम्म सञ्चालित निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा लागेको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो ।

तीमध्ये ३ जना रोगीहरुको दुवै आँखामा मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले बताए।‘एकल महिला र पुरुषलाई बरदान नै भयो,घरमा एक्लै भएकाहरुले अव घरायसी काम गर्न सक्ने भए’ अध्यक्ष बानियाँले भने ।

उनका अनुसार ८ सय ६९ जना आँखाका विभिन्न रोगी तथा बिरामीहरु लाभान्वित भएका छन् । निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो । शिविरको पहिलो दिन आइतबार १६ जना, दोस्रो दिन सोमबार ३२ जना र तेस्रो तथा अन्तिम दिन मङ्गलवार ३४ जनामा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । जिल्लामै मोतियोविन्दु रोगको उपचार गर्न पाउँदा ज्येष्ठनागरिक दङ्ग परेका छन् ।

निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको पहिलो दिन ३ सय १३ जना, दोस्रो दिन ३ सय ५९ र तेस्रो दिनमा १ सय ९७ जनाले आँखाको चेकजाँच गर्नुका साथै परामर्श सेवा लिएका थिए । शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डाक्टर अन्जु गुरुङको नेतृत्वमा ८ जनाको टोलीले बिरामीहरुमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गराएको संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताए ।

शिविरमा आएका बिरामीहरुमा आँखासम्बन्धी अन्य रोगको समेत पहिचान गरिएको छ भने थप उपचारका लागि रिफर गरिएको जनाइएको छ । एकजनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र ३ दिन लाग्छ। शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ ।

 

Previous articleचौतर्फी दवावपछि काममा फर्किए बेनी अस्पतालका ठेकेदार
Next articleबेनी नगरले थाल्यो अव्यवस्थित तार हटाउने अभियान