म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको पौलस्त्य माध्यमिक विद्यालयमा स्थापित पौलस्त्य मावि अक्षयकोषको तेस्रो साधारणसभाबाट लोकबहादुर बानियाँ (आलोक)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा सरस्वती खत्री, सचिब अशोक खड्का, कोषाध्यक्ष रामचन्द्र खत्री, सहसचिव आनन्द बानियाँ रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा गजिन्द्र श्रेष्ठ, उमा पौडेल, मानवी शर्मा पौडेल, वीरवहादुर खत्रीलाई चयन गरिएको संस्थापक सचिव देवीप्रसाद शर्माले जानकारी दिनुभयो । पौलस्त्य माविको शैक्षिक विकास गर्ने उद्देश्यले २०७५ सालमा संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको कोषमा हालसम्म ८ लाखभन्दा बढी रकम अक्षयकोषमा जम्मा गरिएको छ ।

कोषको ब्याजबाट पौलस्त्य माविमा अध्ययनरत सबै विद्यार्थीलाई निशुल्क रूपमा पोशाक वितरण गरिएको थियो । नवनिर्वाचित अध्यक्ष बानियाँले अक्षयकोषलाई एक करोडसम्म पुर्याउने लक्ष्य राखी अभियान थालिएको बताउनुभयो । कोषमार्फत विद्यालयको शैक्षिक तथा अन्य गतिविधिमा सघाउने गरी सहयोग गर्न समेत अध्यक्ष बानियाँले अपिल गर्नुभयो ।

कोषमा १० हजारभन्दा तल जम्मा गर्नेलाई साधारण सदस्य, १० हजार देखि ४९९९९ सम्म पूर्ण सदस्य, ५०००० देखि ९९९९९ सम्म विशिष्ट सदस्य र १ लाख देखि माथि रकम जम्मा गर्नेलाई अति विशिष्ट सदस्य बनाउने व्यवस्था विधानमा रहेको छ ।

Leave a Reply