म्याग्दीमा ३४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकाहरु मध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

स्वास्थ्य कार्यालय म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा क्षयरोगको सङ्क्रमण भएकाको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच तथा लक्षण देखिएर स्वास्थ्य संस्थामा आएका बिरामीबाट नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य कार्यालयमा प्रमुख एकनारायण लम्सालले बताए ।

उनले बेनी नगरपालिकामा १३, अन्नपूर्णमा ६, मालिकामा ५, रघुगंगामा ४, मंगलामा ४ र धवलागिरी गाउँपालिकामा ३ जना क्षयरोगका विरामी भेटिएका बताए । सहरबजार देखि ग्रामिण क्षेत्रसम्म लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनको भनाइ छ ।

गत आर्थिक बर्षमा ५८ जना क्षयरोगका विरामी भेटिएका थिए । गएको आव २०७७÷७८ मा ४८ जना क्षयरोगी पत्ता लागेका थिए । क्षयरोगबाट पिडित भएका १ व्यक्तिबाट बर्षमा १० जना सम्म थप संक्रमित हुन सक्ने खतरा रहेको स्वास्थ्य कार्यालयका क्षयारोग फोकलपर्सन गणेश सुबेदीले बताए ।

हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा खकार जाँच गर्नुपर्ने बताए। परीक्षण गर्दा क्षयरोगदेखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने उनको भनाइ छ। उनले ग्रामिण क्षेत्रमा एक क्षयरोगीबाट करिब १५ जना र सहरी क्षेत्रमा २० जनासम्म जोखिममा पर्ने बताए। ‘अधिकांसमा फोक्सो र घाँटीका रोगी भेटिएको छ, नयाँ क्षयरोगी थपिने सम्भावना अधिक छ,’सुबेदीले भने।

म्याग्दीमा बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, ताकम, भुरुङ तातोपानी, शिख स्वास्थ्य चौकीमा खकार जाँचका लागि ल्याव रहेको छ। क्षयरोग माइक्रोव्याक्टेरियम टियुबरक्लोसिस नामक किटाणुका कारण सर्ने गर्छन। यो रोग हावाबाट सर्ने रोग भएकाले फोक्सोमा असर गर्छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाबाट यस रोगको औषधी निःशुल्क रुपमा उपलब्ध गराईन्छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर अहेव अधिकृत सोमनाथ उपाध्यक्षको स्वागत तथा सूचना अधिकारी सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply