खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीबजारमा अनुगमन भएको छ । बेनीबजारको हुलाकचोक, न्युरोड र क्याम्पसचोक क्षेत्रमा सञ्चालित खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिएको हो ।

दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुमा गुणस्तरीयता भए, नभएको विषयमा सरोकारवाला निकायसहित स्थलगत अनुगमन गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालको नेतृत्व र म्याग्दी जिल्लास्थित विभिन्न सरोकारवाला निकाय तथा कार्यालयहरुको सहभागितामा बेनीबजारका पसलहरुको अनुगमन गरिएको थियो ।

बेनीको हुलाकचोकदेखि क्याम्पसचोकसम्म सञ्चालनमा रहेका खाद्यान्न तथा किराना पसलहरु साथीभाइ ट्रेडर्स, न्यु श्रेष्ठ किराना स्टोर्स, महारानी किराना पसल, यमुना किराना पसल, सुज्ञान किराना पसल, न्यु अर्मन जनरल स्टोर्स र सगरमाथा किराना पसलमा अनुगमन गरिएको थियो । यसैगरी नतिजा स्टोर्स, आभास किराना पसल, पुन स्टोर्स, एलिना किराना पसल, सुमन स्टेशनरी तथा किराना पसल, श्रेष्ठ मार्ट, रोजा स्टोर्सलगायत कुल १५ वटा खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिएको कार्यालयले जानकारी दिएको छ ।

अनुगमन गरिएका पसलहरुमध्ये केही पसल दर्ता तथा नवीकरण नभएको, पसलमा मूल्यसुची नटाँसेको र अपडेट नगरेको, म्याद सकिएका दैनिक उपभोग्य खाद्य सामग्रीहरु बिक्रीमा राखेको, कानुनी प्रक्रिया पुरा नगरेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् । अनुगमन टोलीले म्याद सकिएका सामानहरु जफत गरी नष्ट गरेको थियो । खाद्यान्न पसलहरुको गुणस्तरीयता सुधार्न अनुगमन गरिएको हुँदा कमीकमजोरी सुधारेर पसल सञ्चालन गर्न निर्देशन दिइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक सहन्साकुमार मेहताले बताउनुभयो ।

पसल अनुगमन कार्यक्रममा आयोजक कार्यालयसहित जिल्ला प्रशासन, पर्यटन तथा घरेलु उद्योग कार्यालय, बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका प्रतिनिधिसहितको सहभागिता रहेको थियो । यसअघि खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले स्थानीय तहको समन्वयमा मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकामा सञ्चालित पसलहरुको अनुगमन गरेको थियो ।

बजारमा सञ्चालित खाद्यान्न, किराना, फलफुल, मासु, होटल तथा रेष्टुरेण्टहरुको विभिन्न समयमा अनुगमन गर्ने गरिएको छ । तर कपडा तथा फेन्सी पसल, कस्मेटिक, व्युटीपार्लर, कपाल काट्ने सैलुन, हेन्सम पार्लर, सुनचाँदी पसल, हार्डवयर, मोबाइल तथा इलेक्ट्रिक, कम्प्युटरलगायत पसलहरुमा भने अझै अनुगमन हुन सकेको छैन ।

Leave a Reply