अमृत बास्कुने, म्याग्दी
‘घर अगाडीबाट धुलो उडाउँदै हिड्छ गाडी तर बेनीबाट आफ्नो घर सम्म पनि आउन पाइदैन, उनीहरुले तोके कै भाडा दिन्छुभन्दा पनि चडाउनै मान्दैनन्, हामीले धुलो खाने मात्रै हो त ?’ बेनी नगरपालिका–६ अर्थुङ्गेका दिपक हमालले प्रश्न गर्नुभयो । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को दोश्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा राखेको उहाँको प्रश्नले दुरीले नजिकै भए पनि कठिन समयमा पनि पैदल यात्रा गर्न परेको बाध्यता झल्कीन्थ्यो ।

बेनी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नगरपालिका भित्रका सर्वसाधारणले आफूले भोगेको सास्तीबाट मुक्ती पाउनका लागि के गर्न सकिन्छ भन्ने राय लिएका थिए । अर्थुङ्गे क्षेत्रमा खानेपानीको समस्याले आफूहरुलाइ निकै सताएको ठाकुरप्रसाद पौडेलको भनाई थियो । कृषिम निर्भर नेपालीहरुका लागि पिउने पानीको समेत समस्या छ भने सिंचाइ गरेर कृषि उत्पादन बढाउन कसरी सकिएला उहाँले प्रश्न गर्नुभएको थियो ।

स्थानीयवासी हरिप्रसाद पौडेलले पर्यटनको सम्भावना रहेको भए पनि त्यस तर्फ किन ध्यान नदिएको भनेर सोध्नु भएको थियो । उहाँले पर्यटन विकासका लागि अर्थुङे हुँदै बेनी बजार माथिबाट पर्वतको जलजला गाउँपालिकाको मल्लाज जोड्ने झोलुङ्गे पुल निर्माण तर्फ ध्यान केन्द्रीत गर्नु पर्ने बताउनुभएको थियो ।

बेनी नगरपालिकाको ६ नम्बर वडा कार्यालय भवन निर्माणको क्रममा आफ्नो बारी र घरमा समेत क्षती पुगेको भन्दै राधिका पौडेलले आफ्नो उचित व्यवस्थापनका लागि माग गर्नुभएको थियो । भवन निर्माणको क्रममा जगखन्दा बारी तथा घर नै चर्केकोले वर्षाको समयमा अब बस्न पनि कठिन हुने उहाँले बताउनुभयो । एकल महिला पौडेलले आफु र आफ्ना सन्तानको एक मात्रै आश्रय रहेको घर पनि चर्किदा निकै पिडा भएको बताउनुभएको थियो ।

ग्रामिण भेकमा उपभोक्ता समितिले निर्माण गरेका कतिपय राम्रा कामलाई पनि प्राविधिकिहरुले नियतबस अयोग्य सावित गरेको किशोर शर्माले बताउनु भयो । उहाँले भन्नुभयो–ठेकेदारले गर्दा इन्जीनियरले पास गर्दीन्छन् हामी उपभोक्ताले गर्दा चाँही गलत हुने भन्दै प्रश्न गर्नुभएको थियो ।

स्थानीयको प्रश्नको उत्तर दिँदै बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले जनताको उचित मागहरु यथासक्य सम्बोधन हुने बताउनुभएको थियो । उहाँले आफैमा बेनी नगरपालिका पूर्वाधार तथा बिकासका दृष्टिले हेर्दा नगरपालिका भन्न लायक १० मध्ये २÷३ वडा मात्रै रहेको बताउँदै उहाँले समग्र नगरको बिकासलाई आफूले मुल लक्ष्य बनाएर अगाडी बढ्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम नगर प्रमुख सुरत केसीको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष बानियाँको स्वागत र प्रशासन अधिकृत युवराज थापाको संचालनमा सम्पन्न भएको थियो । नगर उपप्रमुख ज्योती लामिछाने लगगायतको उपश्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले नगरपालिकाले अहिले सम्म गरेका कार्यहरुको प्रस्तुती गर्नुभएको थियो ।

Leave a Reply