म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण जनसंख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को अनुसार बि.स. २०६८ को तुलनामा ०.५७ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो ।

२०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को अन्तिम नतीजामा एक लाख सात हजार ३३ जना रहेको छ ।म्याग्दीमा महिलाको जनसंख्या ५४ हजार ८८० र पुरुषको संख्या ५२ हजार १५३ जना भएको छ ।

कुल घरधुरी २८ हजार ७७६ रहेकोमा आफ्नै घरमा बस्ने ८४.३ प्रतिशत,भाडा लिएर बस्ने १२.६ प्रतिशत रहेका छन्। जिल्लाको कूल क्षेत्रफल २ हजार २९७ वर्ग किलोमिटर रहेकोमा ९५.०३ प्रतिशत लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । ४७ ब्यक्ति प्रति बर्गकिलोमिटरमा बसोबास गर्ने गरेका छन् ।

म्याग्दीमा अपाङ्गता भएको जनसंख्याको प्रतिशत ५ रहेकोमा अपाङ्ता भएको महिलाको ४.५ प्रतिशत रहेको भने पुरुष ५.४ प्रतिशत छ । ९ हजार ३३६ परिवार भएको बेनी नगरपालिकामा १७ हजार ३३६ महिला र १५ हजार ३६१ पुरुष गरि कुल ३२ हजार ६९७ जनसंख्या छ ।तीन हजार ६ सय परिवारको बसोबास भएको अन्नपूर्ण गाउँपालिकाको जनसंख्या १२ हजार ३२३ जना छ।

तीन हजार १७६ परिवार रहेको धवलागिरीमा १२ हजार ६१६, ४५ सय ९० परिवार भएको मालिकाको जनसंख्या १८ हजार ३३२, तीन हजार ९११ परिवार भएको मंगलाको १४ हजार ६८८ र चार हजार १५३ परिवार भएको रघुगंगाको जनसंख्या १४ हजार ११४ जना छ। म्याग्दीका सबै स्थानीय तहमा बार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक छ । सबैभन्दा धेरै धवलागिरी र रघुगंगा र सबैभन्दा कम बेनी नगरपालिका छ ।

म्याग्दीबाट विदेशमा बसोबास गर्ने अनुपस्थित जनसंख्या पुरुष ६ हजा ९६१ र महिला १८ सय ५ गरी कुल १० हजार ७६६ छ भने देशभित्र अन्य स्थानमा बसोबास गर्नेको संख्या १४ हजार ७७७ रहेको छ । जसमा पुरुष ७ हजार ५ जना र महिला ७ हजार ४७२ रहेको छ ।

जनगणनामा बैदेशिक रोजगारीमा गएको यो संख्या स्थायी रुपमै बसोबास गर्ने, पिआर वा डिभी परेकाहरुको संख्या उल्लेख गरिएको छैन । कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा खाडीमुलक तथा छिमेकी राष्ट्र भारतबाट घर फर्किएकाहरु जनगणनमा समेटिएको छ । म्याग्दीको कुल साक्षरता प्रतिशत ७६.२ प्रतिशत रहेको छ । जसमा कुल जनसंख्याको पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत रहेको छ ।

जिल्लाभित्र कहिल्यै विद्यालयमा प्रवेश नगरेको संख्या ८.१ प्रतिशत रहेको छ । म्याग्दीमा स्नातकोत्तर वा सोभन्दा बढी पढेको संख्या १ हजार ५ अर्थात कुल जनसंख्याको १.३ प्रतिशत रहेको छ । जिल्लाभित्र आर्थिक रुपमा सक्रिय जनसंख्या ७४.५ प्रतिशत र कुनै आम्दान नगर्ने निस्कृय संख्या २४.३ प्रतिशत रहेको छ । त्यस्तै दाउराबाट खाना पकाउने ७३.५ प्रतिशत र ग्यासचुल्होको प्रयोग गर्ने २५.७ प्रतिशत रहेको छ ।

म्याग्दीमा केन्द्रिय प्रशारण लाइन, लघुलविद्युत र सोलारबाट बिजुली बाल्नेको संख्या ९५.१ प्रतिशत रहेको छ भने बिना विजुली टुकीको भरमा रहेका ४.९ प्रतिशत रहेको देखिन्छ । कुल घरधुरीमा जस्ताको छानो ७ हजार ४६३, सिमेन्ट ढलान ३ हजार ७११, ढुंगास्लेट १७ हजार १६१ र खरको छाना ३ सय ३२ रहेको छ ।

म्याग्दीमा साधारणभन्दा स्मार्ट मोवाइल बोक्नेको संख्या धेरै देखिएका छन् । तथ्याङ्कमा कुल जनसंख्याको २५.४ प्रतिशतले रेडियो प्रयोग गर्छन, टेलिभिननको पहुँचमा ४०.८ प्रतिशत रहेकोमा साधारण मोबाइल प्रयोग गर्ने ७० प्रतिशत र स्मार्ट मोवाइल बोग्ने ७४.५ प्रतिशत रहेकोमा इन्टरनेटको पहुँचमा ४५.५ प्रतिशत देखिन्छ ।

२०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १२ औ जनगणना अभियान अन्तरगत म्याग्दीमा १८६ जना गणक र ४७ जना सुपरीबेक्षकहरु जनगणनामा परिचालन भएका थिए। संघीय ब्यवस्था लागू भएपछि पहिलो पटक जनणना भएकाले जिल्लाको लैगिक र आर्थिक अवस्थाको डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको छ ।

नेपालमा गर्भनिरोधक सामग्रीको प्रयोग ह्वात्तै बढेको, जन्मान्तर बढ्नुको एउटा ठूलो कारण बच्चा जन्माउने समयमा श्रीमान्श्रीमती सँगै रहन नपाउनु,ढिलो विवाह गर्ने प्रवृत्ति पनि बढेकाले जन्मदर र जनसङ्ख्या वृद्धिदरसँग भएको जनगणना कार्यालय म्याग्दीका तत्कालिन प्रमुख घनश्याक सापकोटाले बताए ।

बि.स २०६८ र ०७८ को जनगणना अधिकृत भएर काम गरेका सापकोटाले म्याग्दीमा जनसंख्या घट्नुको प्रमुख कारण मानिसहरू एकल परिवारतर्फ ढल्कनु, सहरमुखी, बैदेशिक रोजगारी, बालबच्चाको उच्च शिक्षाप्रति चिन्ता, महिलाले धेरै सन्तान जन्माउन अनिच्छुक, राम्रो शिक्षादीक्षा,सेवासुविधा स्वास्थ्यसेवा दिन खोज्ने प्रवृत्ति लगायतका कारण कम सन्तान जन्माउन थालेको बताए ।

Leave a Reply