धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए । मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा बाख्रा चराउन गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार मृत्यु भएको थियो ।साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए।

दरबाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले बाख्रा चराउन गएका थापालाई चोट लागेको मृतकका आफन्तको दावी छ । मृतकका आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको र दुवै शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।

Leave a Reply