नेकपा एमाले म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान धवलागिरि गाउँपालिकाको विभिन्न वडामा सम्पन्न भएको छ । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित ग्रासरुट अभियान सञ्चालन गरिएको हो ।

धवलागिरिको गूर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कबाङ र ताकममा मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ अन्तर्गत वडा कमिटीको वैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमाले म्याग्दीले जनाएको छ । अभियानको क्रममा पार्टीको सदस्यता नवीकरण, विस्तार, टोल तथा वस्तीस्तरमा पार्टीको अभियानसम्बन्धी योजना निर्माणका साथै स्थानीयको अपेक्षा र गुनासो सङ्कलन गरिएको छ ।

वडास्तरमा सञ्चालित अभियानलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले स्थानीयस्तरबाटै पार्टी सङ्गठनलाई बलियो बनाउनका लागि मिसन ग्रासरुट सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले अभियानमार्फत पार्टी कामको साथसाथै स्थानीय जनताको चाहना र अपेक्षा समेत सङ्कलन गर्ने तथा विकास निर्माणको अवस्थाबारे जानकारी हासिल गरिएको बताउँदै मिसन ग्रासरुट अभियानबाट आउँदो निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दावी गर्नुभयो ।

अभियानलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देश अहिले पनि एमालेले ल्याएको नीति र कार्यक्रमलाई अनुसरण गर्दै अगाडि बढेकाले देशको नेतृत्व पनि एमालेले नै गर्नुपर्ने बताउनुभयो ।

उहाँले विभिन्न कारणले म्याग्दी जिल्लामा गएको निर्वाचनमा प्रत्यक्षतर्फ एमाले पराजित भए पनि जनमतको हिसाबले अझै पहिलो पार्टी बनेकाले आउँदो निर्वाचनमा एमालेको विजयी सुनिश्चित रहेको बताउनुभयो ।

एमाले गण्डकी प्रदेशका अर्का सचिवालय सदस्य खुमबहादुर बानियाँले वर्तमान सत्ता गठबन्धन देश निर्माण गर्नभन्दा पनि बाँडीचुँडी खानका लागि बनेको भन्दै गठबन्धन धेरै समय नटिक्ने बताउनुभयो ।

पालिकाको वडास्तरमा भएको ग्रासरुट अभियानको क्रममा गत निर्वाचनमा एमाले म्याग्दीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका सचिवालय सदस्य श्रेष्ठ र प्रदेश सभा (ख)का उम्मेदवार तथा प्रदेश कमिटी सदस्य यामबहादुर गर्बुजाले धवलागिरि गाउँपालिकावासी आम मतदातालाई धन्यवादज्ञापन गर्नुभएको छ ।

उम्मेदवारद्वयले धवलागिरिका मतदाता एवं सर्वसाधारणलाई भेटेर गत निर्वाचनमा आफूहरुलाई अमूल्य मत प्रदान गरेकोमा धन्यवाद दिँदै गणितका हिसाबले निर्वाचन जित्न नसके पनि आफूहरुले मतदाताको मन जितेको बताउनुभयो । मतदाताले आफूहरुलाई दिएको अपार माया र मतलाई कत्ति पनि विचलित हुन नदिने बताउँदै धवलागिरि क्षेत्रको विकास निर्माणमा हातेमालो गरेर अगाडि बढ्ने उम्मेदवारद्वयको भनाइ थियो ।

यसैबीच धवलागिरि गाउँपालिका–१, गूर्जामा भएको वडा कमिटी वैठक तथा मिसन ग्रासरुट अभियानको अभिमुखीकरण कार्यक्रममा गूर्जावासीले एमाले नेताहरुसमक्ष गाउँमा मोटरबाटो ल्याइदिन माग गरेका छन् ।

गूर्जावासीले गरेको मागप्रति आफूहरु अत्यन्त संवेदनशील रहेको बताउँदै एमाले केन्द्रीय सदस्य गौचनले गूर्जामा मोटरबाटो पु¥याउनका लागि आफूले एमालेको केन्द्रीय तहबाटै पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा एमाले धवलागिरि गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष रेशम छन्त्यालसहित स्थानीय नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा सञ्चालन भैरहेको छ ।

ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने सङ्कल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो । अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको बीचमा पार्टी, कार्यकता र जनता बीचको सम्वन्धलाई कसिलो बनाउन तथा ग्रामीण विकास निर्माणबारे नजिकबाट बुझ्ने अभियानको उद्देश्य रहेको छ ।

Leave a Reply