शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा आज (मङ्गलवार) सदरमुकाम बेनीमा नियुक्तिपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नजिकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०७९ सञ्चालन गर्नका लागि केन्द्राध्यक्षहरुलाई नियुक्तिपत्र दिनुका साथै अभिमुखीकरण गरिएको हो ।

आगामी चैत्र १७ गते शुक्रबार देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा निरिक्षकहरुले मर्यादित तबरले सञ्चालन गर्नुपर्ने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।

‘विद्यार्थीले चिट चोरेको पाइएमा निरिक्षक तथा केन्द्राध्यक्षलाई नै कार्वाही गरिन्छ, बैकल्पिक जनशक्ती तयारी गर्नुहोला’ प्रजिअ पौडेलले भन्नुभयो । उहाँले परीक्षा केन्द्रमा सिमित निकायबाट अनुगमन गरिने तथा अनावश्यक अनुगमन रोकिने समेत बताउनुभयो । जनप्रतिनिधि वा सरकारी निकायको अनुगमनमा खटिएका अनुगमन गर्ने क्रममा आफ्ना छोराछोरी वा आफन्त केन्द्रमा भएमा अनुगमन नगर्ने गरी जिल्लास्तरीय निर्देशिक समेत बनाउन समेत प्रजिअ पौडेलले निर्देशन दिनुभएको छ ।

परीक्षालाई मर्यादित बनाउने भनेर सपथ खाएका व्यक्तिहरुले लापर्वाही गरेको खण्डमा विभागीय कार्वाहीका लागि पनि शिफारिस गर्न सकिने कानुनी माध्यम रहेको तर्फ सचेत गराउँदै उहाँले शान्तिपूर्वक तबरले विद्यार्थीले लेख्न पाउने वातावरण सृजना गराउन आग्रह गर्नुभयो । प्रहरी नायव उपरीक्षक मदन कुँबरले परीक्षाका लागि केन्द्रले पठाइदिएको पश्नपत्रहरु जिल्ला प्रहरी कार्यालयमा आइपुगेको र सुरक्षित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘प्रहरीले दिने सुरक्षा हो र त्यो हामीले दिन्छौं, कुन केन्द्रमा कसको नेतृत्वमा कति जना खट्ने सबै तय भै सकेको छ ।’ विद्यार्थीलाई प्रवेशद्धारमा चेकजाँच र हतियार सहित प्रहरी केन्द्रभित्र प्रवेश नगर्ने प्रनाउ कुँवरको भनाई छ ।

शिक्षा विकास तथा समन्य इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले यस वर्ष १७ जनाले ग्रेडबृद्धि, ७७ जना प्राविधिकि धारका र एक हजार नौ सय सात जना नियमित तर्फका गरी कुल दुई हजार एक जनाले परीक्षामा सहभागीता जनाउने बताउनुभयो । परीक्षामा यस वर्ष मुक्तीधाम मावि राखु केन्द्रबाट ज्ञानोदय मावि मौवाफाँटबाट अध्ययन गरेका दुई जना दृष्टिबिहिनले पनि परीक्षा दिनेछन् ।

जिल्लामा एसइई परीक्षा केन्द्र तोकिएका विभिन्न ९ वटा केन्द्रमा खटाइएका केन्द्राध्यक्षहरुलाई नियुक्तिपत्र विरतण गरिएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । इकाइका अनुसार केन्द्र तोकिएको प्रकाश माध्यमिक विद्यालयमा लेखबहादुर हमाल, बेनी सामुदायिकमा दीपक श्रेष्ठ, न्यु वेष्ट प्वाइन्ट आवासीय माविमा डिलबहादुर दाहाल, धवलागिरि मावि सिङ्गामा भूवनप्रसाद रेग्मी रहनुभएको छ ।

यसैगरी मंगला मावि बाबियाचौरमा गमबहादुर खत्री, जनप्रिय मावि दरबाङमा दिवाकर सुवेदी, हेम मावि सिबाङमा शेरबहादुर केसी, मुक्तिधाम मावि राखुभगवतीमा टेकबहादुर केसी र मुक्तिमार्ग मावि घारमा ठगराज बरुवाललाई केन्द्राध्यक्ष तोकिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का, जिल्ला शाखा उपाध्यक्ष हरिकृष्ण गौतम लगायले बोल्नुभएको थियो ।

कार्यक्रम जिल्ला परीक्षा समन्वय समितिका संयोजक पौडेलको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाको स्वागत र प्राविधिक सहायक सरिता राना खाम्चा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply