म्याग्दीबाट पठाइएको शालिग्राम शिलालाई भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्याको राममन्दिर परीसरमा भक्तजनको दर्शनका लागि राखिएको छ । अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको अवस्थामा मन्दिर परीसरमा सुरक्षित गरी भक्तजनको दर्शनका लागि राखिएको छ ।

प्रतिमामा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम क्षेत्रमा पर्ने कालिगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकाली श्रीपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी अयोध्या पठाइएको थियो । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट शिलाको दर्शनका लागि भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गरिन्छ । शिलाबाट बाल मुर्ती बनाउने वा पूरानै स्वरुपमा राख्ने भन्ने बारेमा अहिले पनि भारतमा बहस छ । हिन्दु धर्मालम्बीले स्नान गर्ने प्रमुख हिमनदी कालीगण्डकीबाट निकालिएको शिला स्वयम प्रकट शालग्राम भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् भने अर्को पक्षले रामको बालमुर्ती बनाउँदा कुनै असर नगर्ने बताएका छन् । कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बाल वयको मुर्तिको पक्षमा धेरैको मत रहेको बताइएको छ ।

हिन्दुहरुको पवित्र तिर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर) बाट उत्पत्ति दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो भने लामो दुरी पार गदैं नारायणीमा मिसिन्छ ।मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने गरेको छ ।

सरयु नदीको तटमा अवस्थित अयोध्या धाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो । ९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए ।

Leave a Reply