बेनी नगरपालिका म्याग्दीको आयोजनामा आज (बुधवार) नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सेवा प्रवाह र वित्तीय सुशासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित कार्यक्रम गरिएको हो ।

बेनी नगरपालिका र मातहतका वडा कार्यालयबाट सञ्चालन तथा सम्पादन हुने कार्यक्रम, योजना, आर्थिक सुशासन, सार्वजनिक सेवा प्रवाह तथा सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रम बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक राम पराजुलीले सार्वजनिक खरिद नियमावली, पोखरा महानगरपालिकाका उपसचिव जयराम पौडेलले वित्तीय व्यवस्थापन र म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले नागरिकता र राष्ट्रिय परिचयपत्रको सिफारिसलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले गर्नुभएको थियो।

सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनको अभिमुखीकरण कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत ढकालसहित नगरपालिका अन्तर्गत रहेका विभिन्न वडाका वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, कर्मचारी, वडा सचिवहरु, विषयगत शाखाका प्रमुख लगायतले सहभागिता जनाएका थिए । कार्यक्रमबाट सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

Leave a Reply