पश्चिम म्याग्दीको तीनवटा गाउँपालिकामा सामुदायिक झोलुङ्गे पुल निर्माणको कार्यप्रगति समीक्षा तथा योजना तर्जुमा वैठक सम्पन्न भएको छ । मंगला, मालिका र धवलागिरि गाउँपालिकामा निर्माणको क्रममा रहेका सामुदायिक झोलुङ्गे पुलको प्रगतिबारे समीक्षा गरिएको हो ।

स्थानीय पालिकाको जनप्रतिनिधि र कर्मचारी तथा सहयोगी निकायका प्रतिनिधिहरुको उपस्थितिमा सामुदायिक झोलुङ्गे पुल निर्माणको विषयमा समीक्षा, अन्तक्रिया तथा छलफल गर्नुका साथै योजना तर्जुमा गरिएको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले बताउनुभयो ।

समीक्षा कार्यक्रममा झोलुङ्गे पुल कार्यक्रम शाखा (टिबिएसयु) गण्डकी प्रदेश पोखराका कार्यक्रम संयोजक नवराज मोक्तानले सहजीकरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा निर्माणाधीन सामुदायिक झोलुङ्गे पुलको कार्यप्रगतिमाथि मिलन म्याग्दीबाट समीक्षा प्रस्तुत गरिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुले पालिकाभित्र निर्माणको क्रममा रहेका सामुदायिक झोलुङ्गे पुल निर्माणमा तीव्रता दिनुका साथै वडास्तरमा निर्माण गर्नुपर्ने लामो तथा छोटो दुरीका पुलहरुको विवरण सङ्कलन गरिएको हुँदा कार्यपालिकाको वैठकबाट प्राथमिकिकरण गरेर माथिल्लो निकायमा पठाउने बताएका छन् । म्याग्दी जिल्लाको विभिन्न स्थानमा आवश्यकताको आधारमा सामुदायिक झोलुङ्गे पुल निर्माणकार्य भैरहेको छ ।

योजना तर्जुमा वैठकको अवसरमा निर्माणसम्पन्न सामुदायिक झोलुङ्गे पुलको मर्मतसम्भार गर्नको लागि आउँदो वैशाख महिनाभित्र तीनवटै पालिकामा आवश्यकताअनुसार एकएक जना पुल संरक्षणकर्ता नियुक्ति गरेर उनीहरुलाई एक दिनको तालिम सञ्चालन गर्ने निर्णय भएको छ ।

धवलागिरिमा आयोजित समीक्षा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बजेट निर्माणको क्रममा पुल निर्माणका लागि आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले धौलागिरि बेसक्याम्प जाने पदमार्गहरुमा पनि धेरै पुलहरुको निर्माण गर्नुपर्ने अवस्था रहेकाले आफूले टानसँग पनि त्यहाँ आवश्यक पर्ने पूर्वाधार निर्माणमा पहल गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा टिबिएसयु पोखराका इन्जिनियर रामकैलाश यादव, प्रादेशिक प्राविधिक सहयोगी संस्था (पिटिएपी) गण्डकी प्रदेश पोखराका प्राविधिक संयोजक अशोकराज जोशी र प्राविधिक अधिकृत दयाराम साहको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मिलन म्याग्दीका सामाजिक सुपरीवेक्षक छवि पूर्जाले गर्नुभएको थियो । जिल्लामा निर्माण हुने सामुदायिक झोलुङ्ग पुल निर्माणको कार्यमा मिलन म्याग्दीले प्राविधिक सेवाको साथै सामाजिक सहजीकरण गर्दै आइरहेको छ ।

सामुदायिक झोलुङ्गे पुल निर्माणको कार्यप्रगति समीक्षा तथा योजना तर्जुमा वैठकको अवसरमा पालिकास्तरमा निर्माणाधीन अवस्थामा रहेका झोलुङ्गे पुलको स्थलगत अनुगमन समेत गरिएको थियो । ग्रामीण भेगमा सामुदायिक झोलुङ्गे पुल निर्माणकार्यका लागि स्वाब कार्यक्रमबाट ८५ प्रतिशत आर्थिक सहयोग, स्थानीय तह (गाउँपालिका)को १३ प्रतिशत र बाँकी २ प्रतिशत जनसहभागितामा पुल निर्माण हुँदै आइरहेको छ ।

चालु आर्थिक वर्ष २०७९÷०८० का लागि म्याग्दीको बेनी नगरपालिकामा ३ वटा, मंगला गाउँपालिकामा एकवटा, मालिकामा ७ वटा, धवलागिरिमा दुईवटा, रघुगंगामा ३ वटा र अन्नपूर्णमा २ वटा सामुदायिक झोलुङ्गे पुलहरु निर्माणको चरणमा रहेका छन् । यसमध्ये मालिकाको देवीस्थानमा एकवटा पुल निमाणसम्पन्न भई सञ्चालनमा आएको छ भने गतवर्ष धवलागिरिमा ७ र अन्नपूर्ण ४ गरी जिल्लामा कुल ११ वटा सामुदायिक झोलुङ्गे पुल बनेका थिए ।

 

Leave a Reply