चैत्राष्टमी मेला २०७९ मा आयोजना गरिएको कालिका कप खुल्ला पुलिस भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा पुलिसले घुम्टे युवा परिवार गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

घुम्टेले पहिलो र तेस्रो सेट आफ्नो जितेको थियोभने पुलिसले दोस्रो, चौथो र पाँचौ सेट आफ्नो पक्ष पार्दै उपाधि जितेको हो । पुलिसले पहिलो १८–२५ ले गुमाएको थियोभने दोस्रो सेटमा २५–१९ को सहज जित निकालेको थियो । तेस्रो सेटमा २२–२५ ले गुमाएको पुलिसले चौथो सेटमा २५–२३ र पाँचौं सेटमा १५–९ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

उपाधिसँगै च्याम्पियन पुलिसले ३ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।दोस्रो भएको घुम्टेले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  यस्तै प्रतियोगितामा तेस्रो र चौथो हिल साइड निर्माण सेवा निलो र सेतो भएका छन् । दुवै टिम एउटै क्लबका भएकाले क्लबको चाहना अनुसार निलोलाई तेस्रो र सेतोलाई चौथो घोषणा गरिएको हो ।

तेस्रो भएको हिल साइड निर्माण सेवा निलोले ७० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गरेको छ ।यस्तै नेपाल पुलिस क्लबका विशाल बहादुर विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष चैत्र १३ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको थियो । मेलामा अयोजना गरिएको कालिका कप खुल्ला पुलिस भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply