म्याग्दीको बेनी नगरपालिका–७, ले १ सयबर्ष पूरानो पोखरी संरक्षणमा जुटेको छ । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित वर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मत सम्भारका लागि वडा कार्यालयहरूले अभियान नै सञ्चालन गरेको वडाले बेनी–महारानी सडकखण्ड अन्तरगत रहेको पोखरीको संरक्षणका लागि चालु आवमा ५ लाख विनियोजन गरेको छ। तत्कालिन समयमा बेनीका समाजसेवी तुलप्रसाद शाक्यले बनाएको चौतारी सहितको पोखरीको संरक्षणले घुम्न जानेलाई समेत सहज हुनेछ ।

बषौंदेखि प्रयोगविहिन र मर्मत सम्भारको अभावमा धेरै वर्षदेखि पानी अड्याउने नसक्दा जिर्ण बनेको पोखरीलाई नयाँ स्वरुप र आसपासका क्षेत्रको संरक्षण गरी मोटरबाटो समेत पुर्याइएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । ‘पोखरी आसपासको क्षेत्रमा मर्मतकार्य जारी छ,‘चौतारी र पोखरीमा घुम्न मिल्ने गरी पूर्वाधार बनाउँछौ’ वडा अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार पोखरी आसपासका क्षेत्रमा तारजालीले संरक्षण गरी बस्न मिल्ने संरचना र पोखरीमा पानी जम्मा गरिने छ । थप पूर्वाधारका लागि आगामी आवमा समेत बजेट विनियोजन गरिने छ ।

तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको वडा नं ७ भित्रका धार्मिक मठमन्दिर,चौतारी पोखरी र ऐतिहासिक स्थलहरूको पुनःनिर्माण तथा संरक्षण भइरहेको छ । आध्यात्मिक विश्वास,वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्वन्धित यस्ता सम्पदाहरूको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । २०० वर्षभन्दा पुराना वर–पिपलका रुख रोप्नेहरूको विवरण संकलन गरी परिवारबाट संरक्षणको प्रयास गरिएको छ।

Leave a Reply