रोजगारको खोजीमा देश-विदेश चहारेपछि बुटवलका टुकबहादुर लोहार आफ्नो पुर्ख्यौली पेसामा फर्किएका छन्।फलामबाट हातहतियार बनाउने पुर्ख्यौली पेसामा लाग्न पहिले उनलाई दिक्क लाग्थ्यो, अहिले भने उनमा पश्चाताप छैन, गौरव गर्छन्।
अब उनलाई कसैको अधीनमा बस्नुछैन रे। मनमा आफ्नो कामको कदर भएपछि उनको यो पेसामा मन फर्किएको रहेछ।
‘पहिला पहिला फलामको काम गर्न लाज लाग्थ्यो। हामीलाई कामी भन्थे। चिया खाँदा गिलास धुनुपर्थ्यो। त्यसैले दिक्क लाग्थ्यो,’ लोहारले भने, ‘पछि थाहा भयो, यो पेसा राम्रो रहेछ। कसैको ‘टर्चर’ हुँदैन। कसैले ओई यहाँ आइज, यो काम गर भन्न सक्दैनन्। कामकै आधारमा भेदभाव गरिन्न।’
बुटवलको बाँसगढी घर भएका लोहार अहिले बेनी–९ गलेश्वरमा बस्छन्। कालीगण्डकी नदी किनारमा जोमसोम जाने सडकछेउ सानो झुपडी बनाएर उनले उद्यम गरिरहेका छन्। यहाँ उनी फलाम पिटेर हँसिया, हथौडा, चक्की, खुकुरी, खुँडाजस्ता घरेलु हतियार बनाउँछन्।
उनलाई बुटवलकै छिमेकी धनबहादुर सुनारले साथ दिएका छन्। लोहारले बस्ने-खाने सुविधा र दैनिक ज्याला दिएर सुनारलाई काम दिएका हुन्। फलाम रातो हुने गरी आगोमा पोलेर लोहार र सुनार पालैपालो घनले हिर्काउँछन्। आफूले बनाउन चाहेको हतियारको आकार निकाल्छन्। हतियार बनेपछि धारिलो बनाउन पाइन हाल्छन् र बेच्न राख्छन्।
उनीहरूले आफूले बनाएको घरेलु हतियार सडकछेउ डोरी लगाएर झुन्ड्याएका छन्। जोमसोम आउने यात्रु तथा पर्यटक उनका ग्राहक हुन्। म्याग्दीका स्थानीयले पनि घरेलु प्रयोजनका लागि उनले बनाएका हतियार खरिद गर्छन्।
बुटवलमा आफ्नो बुवासँग आरनमा काम गर्दागर्दै फलामको काम गर्न जानेका लोहारले यसअघि पोखराको खसीबजारमा आरन थापेका थिए। पोखरामा बनाएको हतियार होलसेलमा बिक्री गर्दा धेरै फाइदा भएन। करिब सात वर्ष पोखरा बसेपछि उनले म्याग्दी गएर आरन थापेका हुन्। म्याग्दी बस्न थालेको पनि चार वर्ष बितिसकेको उनले बताए।
‘पोखरामा होलसेलमा हतियार बेच्थेँ, होलसेलमा थोरै मूल्य आउँथ्यो,’ उनले भने, ‘यहाँ खुद्रा बेच्छु, राम्रो छ।’परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी भएका लोहार आरनमा काम गर्दागर्दै रोजगारको खोजीमा भारत पुगेका थिए। होटल लगायत ठाउँमा काम गर्दै उनी विहार, लखनउ, गाजियावाद, हरियाणा लगायत ठाउँमा १० वर्षभन्दा बढी बसे। भारतमा भौंतारिँदा भौंतारिँदा नेपाल फर्केर पुर्ख्यौली पेसामा लागेको उनले बताए।
‘अहिले यो कामको हाइहाई छ,’ उनले भने, ‘अर्काको खटनपटन पनि सहनुपरेन, काम गर्न सके मूल्य पनि राम्रै पाइन्छ।’
कालीगण्डकी किनार सडकछेउ आरन थाप्न उनले सुरूमा डेढ लाख लगानी गरेका थिए। अहिले आफूसँग भएका हतियारको समेत हिसाब गर्दा कम्तिमा पाँच लाख रूपैयाँका सामग्री भएको लोहार बताउँछन्।
कालीगण्डकी किनारमा लोहारको आरनमा चार सयदेखि पाँच हजारसम्मका हतियार पाइन्छ। उनी तरकारी काट्ने सामान्य चक्कु चार सय रूपैयाँमा बेच्छन्। ठूला हतियारका रूपमा प्रयोग हुने खुँडा पाँच हजार रूपैयाँसम्म पर्ने उनले बताए।
विदेशीले समेत नेपालको चिनोका रूपमा आफूले बनाएका हतियार लैजाने गरेको लोहारले जानकारी दिए।
‘हामीले बनाएको हतियार विदेशीले पनि लगेका छन्, नेपालको चिनो भन्छन्,’ उनले भने, ‘नेपालीले पनि विदेश पठाउन हँसिया लैजान्छन्।’
घरेलु हतियार बनाउन लोहारले कच्चा पदार्थका रुपमा फालिएका फलामका टुक्रा प्रयोग गर्छन्। भाँचिएका गाडीको पट्टा सबभन्दा राम्रो हुने उनको अनुभव छ। त्यस्ता फलाम किलोको ९० रूपैयाँमा किन्ने गरेको उनले बताए।
घर बनाउन प्रयोग गरिने रड ओदान बनाउन प्रयोग गर्छन्। रड कमलो हुने भएकाले हतियार बनाउन प्रयोग नहुने लोहारले बताए। यस्ता नरम फलाम हतियारको बिँड अड्याउन प्रयोग हुन्छ।
‘हतियार बनाउन गाडीको पट्टा सबभन्दा राम्रो हुन्छ, नरम फलामबाट हतियार बन्दैन,’ उनले भने।
पहिले पहिले फलाम काट्नुपर्दा रातो हुने गरी तताएर फलामकै हतियारले काट्नुपर्थ्यो। अहिले प्रविधिको विकासले सजिलो भएको छ। उनीहरूले आरनमा फलाम काट्न ग्यालेन्डर नामक मेसिन जोडेका छन्। बिजुलीबाट चल्ने उक्त मेसिनले सजिलै फलाम काट्छ।
आरनमा आगो फुक्न लोहारले बिजुलीजडित पंखा पनि जोडेका छन्। पंखाले आगो फुक्दा सजिलो भएको उनले बताए। उनका अनुसार आगोमा पोलेर रातो भएको फलाम पिट्न मात्र अहिले दु:ख छ। त्यसपछि हतियारको आकार र धार दिन ख्याल गर्नुपर्छ।
‘बाबुबाजेका पालामा यस्तो मेसिन थिएन, आगो फुक्नेदेखि फलाम काट्ने सबै मान्छेले गर्नुपर्थ्यो,’ उनले भने, ‘अहिले मेसिन आएपछि अलि सजिलो भएको छ।’
फलामलाई आगोमा पोलेर हतियार बनाउने काम सोचेजस्तो सजिलो भने छैन। थोरै गल्ती भए फेरि सुरूदेखि काम गर्नुपर्ने अनुभव लोहारको छ। फलाम तताएर पिट्दा, धार लगाउँदा र पाइन हाल्दा चनाखो हुनुपर्ने उनी बताउँछन्।
‘फलाम पोलेर रातो भएपछि पिटेर हतियारको आकार दिनुपर्छ। पिट्दा गलत ठाउँमा चोट पर्यो भने घाइते हुन सकिन्छ,’ उनले भने, ‘पिट्दा राम्रो आकार आएन भने राम्रो हतियार बन्दैन। फेरि पोलेर सुरूदेखि काम गर्नुपर्छ।’
हतियारको आकार दिएर धार लगाएपछि पाइन हाल्दा पनि उत्तिकै ध्यान दिनुपर्छ। हतियारमा पाइन भएन भने नकाट्ने लोहारले बताए।
‘हतियारले यत्तिकै काट्दैन, पाइन हाल्नुपर्छ,’ उनले भने, ‘पाइन हाल्दा ध्यान दिइएन भने हतियार भाँचिन सक्छ।’
हतियारमा पाइन हाल्नुअघि रेतीले धार लगाउनुपर्छ। ग्यालेन्डर मेसिन आउनुअघि रेतीले धार लाउने परम्परा थियो। अहिले ग्यालेन्डरले सजिलो बनाएको लोहारको अनुभव छ।
हतियारमा धार लगाएर आगोमा पोलेर रातो बनाएपछि पानी हालेर पाइन लगाउने विधि रहेको उनले बताए।
‘पाइन लगाउँदा हतियारले मागेजति पानी दिनुपर्छ, धारमा लाग्ने गरी,’ उनले भने, ‘धेरै पानी दियो भने हतियार भाँचिन्छ।’
यसबाट हतियारको रङ पनि निर्धारण गर्न सकिने उनले बताए। निलो र रातो मिश्रित रङ निस्कँदा राम्रो हुने उनको अनुभव छ। हतियारमा पाइन लगाउँदा कसरी र कति मात्रामा लगाउने भन्ने पुर्ख्यौली पेसाका रूपमा काम गर्दागर्दै जानेको उनले बताए। ‘पाइन मिलेन भने हतियारको धार दोब्रिन्छ वा चोइटिन्छ,’ उनले भने, ‘सबभन्दा ख्याल गर्नुपर्ने नै पाइन लगाउने बेला हो।’ Setopati.com