पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा विद्यालय तहका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी क्षमता विकास तालिम दिइएको छ । मिलन म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र प्याब्सन म्याग्दीको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो ।

किशोरीहरु तथा बालिकामाथि हुन सक्ने सम्भावित हिंसाको विरुद्धमा प्रतिकार गर्न सक्ने बनाउन तथा हिंसाको न्युनीकरण गर्ने उद्देश्यसहित किशोरीहरुलाई तालिम दिइएको आयोजक संस्था मिलन म्याग्दीले जनाएको छ । शुक्रवार, शनिवार र आइतबार गरी तीन दिनसम्म चलेको तालिम अवधिभरमा आत्मरक्षासम्बन्धी विषयमा आधारित रहेर सैद्धान्तिक, व्यवहारिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको छ ।

तालिमको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले तथा तालिमका प्रशिक्षकद्वय विश्वनाथ घिमिरे र प्रेमबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो । तालिम समापनसत्रमा सहभागी किशोरीहरु सुप्रिया पुन, लिलामति सुनार र चनमाया पुनले अनुभव सुनाउनुभएको थियो । तालिमका सहभागी किशोरीहरुलाई आयोजक संस्था र सहयोगी कार्यालयमार्फत सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको छ ।

मिलन म्याग्दीका सहसचिव प्रताप बानियाँले सञ्चालन गरेको तालिमको समापनसत्रमा प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले मन्तव्यसहित समापन गर्नुभएको थियो । यसअघि तालिमको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो भने तीन दिनसम्म सञ्चालन भएको तालिमको मिलन म्याग्दीको तर्फदेखि सुमित्रा गैरे पौडेलले व्यवस्थापकीय जिम्मेवारीसहितको भूमिका निभाउनुभएको थियो ।

Leave a Reply