अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त एप्लिकेसन प्रतिबन्ध लगाइएको हो ।

देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताए । उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने पनि बताए ।

यसअघि, संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्यान्डले उक्त एप्लिकेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली संघका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेका छन् ।

चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने भन्दै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँचबाहिर राख्ने जनाएको छ ।

अरू सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण संकलन गरेको आरोपमा टिकटकको मातृकम्पनी विवादमा पर्दै आएको छ । यद्यपि, उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको जिकिर गर्दै आएको छ ।

गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२० मा टिकटक र मेसेजिङ एप वी च्याटलगायत दर्जनौँ चिनियाँ एपमाथि राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो । चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए । दर्जनौँ घाइते भएका थिए ।

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ । अरू देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि चीनले लगाएको छ । रासस/एपी

Leave a Reply