पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड स्तरोन्नतिको कार्यले गति लिएको छ । केही महिना निर्मााणकार्य सुस्त भएको खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटा हँुदै रणवाङको सिमाना सम्मको सडक कालोपत्र गर्न स्तरोन्नति तथा चट्टान फोर्ने काम भइरहेको छ ।

करिब चार किलोमिटर सडक कालोपत्र गर्न २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो । बावियाचौर नजिकै रहेको चट्टानमा काम ढिलाई भएपछि बर्खाको समयमा समस्या हुने देखिएर मंगला गाउँपालिका सहित जनप्रतिनिधि र अन्य सरोकारवाला निकायले पुर्वाधार कार्यालयलाई काममा तिब्रता दिन दवाव दिएका थिए ।

बेनी–दरवाङको सिम–लाम्पाटा खण्डमा धमाधम काम भइरहेको ओमबृद्धका प्रतिनिधि प्रवीन सापकोटाले बताए। उनका अनुसार असार महिनासम्म सडकको काम सकिने र अर्को आवभित्र कालोपत्रे गरी समयमै हस्तान्तरण गरिने बताए ।

सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गरिने उनले बताए । चालु आर्थिक वर्षमा २ करोड ९५ लाख बजेट विनियोजन भएको थियो । अहिले मजदुर र हेभी इक्युमेन्टबाट धमाधम काम भइरहेको छ ।

पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बाग्लुङको तमानखोला गाउँपालिका र रकुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने सडकखण्डलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा समेत अगाडी बढाइएकोछ ।

बिरुवा–क्याराभान जेभीले २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम भने गति लिन सकेको छैन् । बि.स २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकको कालोपत्रेको म्याद थप्दै ठेकेदार भाग्दै गरेकाले समस्या भइरहेको छ ।

Leave a Reply