नेपालमै पहिलो प्राकृतिक चिकित्सालयको रुपमा स्थापित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा रहेको थेरापी उपकरण कानुनी प्रक्रियामा अल्झन आएपछि एक बर्षदेखि अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट र कानुनी झमेलामा परेपछिसञ्चालनमा ल्याउन नसकिएको हो।

तातोपानी कुण्ड व्यवस्थापन समितिले साउना स्नान, थेरापी र योगासहितको तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालय सञ्चालनका लागि मसाज थेरापी, हाइड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपञ्चरका उपकरण ल्याइएको भएपनि आवश्यक जनशक्ती सहित प्रक्रियामा समस्या देखिएपछि अहिले उपकरणहरू प्लास्टिकले छोपेर राखिएको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

‘अब प्रयोग नभए उपकरण बिग्रिन्छ,‘बैशाख महिनाभित्र सञ्चालन गर्ने योजनामा छौ’ अध्यक्ष शाक्यले भने । संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएको तातोपानी कुण्ड व्यवस्थापन समितिमार्फत सञ्चालन तयारी भइरहँदा समिति भ्याटमा दर्ता र समितिको विधानको उद्देश्यमा प्राकृतिक÷प्रविधि चिकित्सालय सञ्चालन गर्नेसम्बन्धी बुँदामा सरोकारवाला निकायले चासो देखाएपछि प्रक्रिया लम्बिएको बताइएको छ ।

पर्यटन मन्त्रालयको ५० लाख र एक करोड तातोपानी कुण्ड व्यवस्थापन समिति गरी एक करोड ५० लाख रुपैयाँ लगानीमा पाँचतले भवन निर्माण गरिएकोमा भवन निर्माण गर्दा लागेको ऋण तिर्न बाँकी रहेको अवस्थामा चिकित्सालय सञ्चालन गरी तिर्ने योजना रहेको बताए ।

कुण्डमा स्नान गर्न आएका बिरामीलाई योगा थेरापी, मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपञ्चर विधिबाट पनि उपचार ल्याएका सवै थारापीका उपकरण थन्क्याएर राखिएकोमा बिरामीले समेत पटकपटक जिज्ञासा राख्ने गरेको र उपचारकै लागी आएका केही बिरामी फर्किने अवस्था समेत बनेको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।

यता बेनी नगरपालिकाले प्रक्रियागत रूपमा केही त्रुटी सच्चाएर आएमा चिकित्सालय सञ्चालन गर्न अनुमति दिने जनाएको छ। समितिले तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका लागि नियुक्त गरेको प्राकृतिक चिकित्सक डा.आयुशा अधिकारीलाई फिर्ता गरी फिजियो थेरापिस्ट, मसाज थेरापिस्ट र नर्सिङ स्टापको विज्ञापन पनि रद्द गरेको थियो । प्राकृतिक चिकित्सालय सञ्चालनमा आएमा विरामीको चाप झनै बढ्ने होटल ब्यवसायी मना शेरचनले बताईन् । उनले नियमित स्नान बाहेक प्राकृतिक चिकित्सालयप्रति चासो राख्नेहरु समेत आउन थालेको बताईन् ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट विरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसाको समस्या भएका बिरामीलाई बरदान सावित भएको छ । वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले गरेको संरक्षण तथा प्रचारप्रसारले देशभरबाट विभिन्न रोगबाट ग्रसित २६ हजार विरामी तथा १३ हजारभन्दा धेरै कुण्डको अवलोकनका लागि आउने गरेका छन् ।

स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयूर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर अन्तिम विकल्पको रुपमा कुण्डमा विरामी आउन थालेपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चा कमाउन सफल भएको ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए। शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाईते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने विरामीको अनुभवले पनि कुण्डले धेरै विरामीको परिवारका खुसी थपेको छ ।

गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । कुण्ड बाहेक पर्यटकलाई सहज हुने गरी बाहिर थप दुईवटा कुण्ड बनाइएको छ । कुण्डमा करिब ६० प्रतिशत बागलुङ जिल्लाबाट मात्रै आउने गरेको बताउँदै देशका विभिन्न जिल्लाका साथै भारतबको सिक्किमबाट समेत नियमित बिरामी आउँछन् । जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरीएको तलाउमा स्नान गरेका बिरामीहरूले अपेक्षा गरेभन्दा धेरै स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउँछन् ।

Leave a Reply