पदमबहादुर महतको अध्यक्षतामा रत्नेचौर सेवा समाज काठमाडौंको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार राजधानीमा आयोजित तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन समारोहले नयाँ समिति चुनेको हो ।

म्याग्दीको बेनी नगरपालिका–१ घर भै राजधानीमा बसोबास गर्दै आएका रत्नेचौरबासीको यो संस्था सामाजिक कार्यमा सक्रिय छ । अधिवेशनबाट उपाध्यक्ष चन्द्रबहादुर रावल महासचिवमा विष्णु शर्मा, सचिवमा सन्तोष भण्डारी, कोषाध्यक्षमा भीमबहादुर रावल निर्वाचित भएका छन् ।

सदस्यमा वसन्तविक्रम बोगटी, पूर्णबहादुर थापा, अभिषेक बोगटी तथा महिला सदस्यतर्फ कमला शर्मा, मीना आले र माया रावल चुनिएका छन् । सल्लाहकार समितिमा कृष्णबहादुर बोगटी, भेजबहादुर रावल, दुर्गाबहादुर रावल, सुरत खत्री र नरबहादुर बोगटी छन् ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि बोल्दै महतले जन्मथलोको विकास, सामाजिक सेवा र राजधानीमा बसोबास गर्दै रत्नेचौरबासीको हितमा सक्रिय हुने बताए । उक्त अवसरमा कृष्णबहादुर बोगटी नेतृत्वको अघिल्लो कार्यसमितिलाई सफल कार्यकालको लागि धन्यवाद दिइएको थियो ।

निवर्तमान अध्यक्ष बोगटीले रत्नेचौर नगरपालिका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतको मध्यभागमा भएकाले यसलाई आर्थिक, सांस्कृतिक, पर्यटकीय, खेलकुद हब बनाउनुपर्ने बताएका थिए । समारोहमा नयाँवर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । चाँडै बस्ने नयाँ कार्यसमितिको पहिलो बैठकले कार्ययोजना तय गर्ने जानकारी अध्यक्ष महतले दिए ।

Leave a Reply