म्याग्दी – भीर, पहराको सहारा लिएर छङ्छङ् गर्दै बग्ने  झरना । एकनासले माथिबाट तलतिर खसिरहने निकै सुन्दर, आकर्षक अनि मनमोहक म्याग्दीको नर्जा झरना जति हेर्‍यो उति हेरिरहुँ जस्तो लाग्छ ।

नर्जा झरनाभन्दा माथि तोस्काटे भन्ने ठाउँ पर्दछ भने तलतिर अनि दाँयाबाया मुना र लुलाङ गाउँ । भिरालो परेको पाखो र नर्जा ठाउँबाट भीर पहराको सहारा लिँदै बगिरहने नर्जा झरनाको फेदीमा पुग्ने हो भने धित मरुञ्जेल झरनालाई हेरेर रमाउँदै आनन्द लिन सकिन्छ ।

हिमाली जिल्ला म्याग्दीमा यस्ता झरनाहरु थुप्रै छन् । कतिपय झरनाहरु वर्षामा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन् । त्यहीमध्येको एक हो, नर्जा झरना पनि । नर्जा झरनाको बारेमा जानकारी पाउनेहरु सायद कमै होलान् । घाम परेको समयमा इन्द्रेणीका रङहरु समेत देख्न सकिने यस झरना पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । झरनाकै कारणले गर्दा पर्यटकको चहलपहल बढेको स्थानीयवासी बताउँछन् ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ र ३ नम्बर वडा मुनाको सीमानामा पर्ने नर्जा झरना हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक छ । लुलाङ र मुना गाउँको माथिल्लो सिमानाबाट झर्ने नर्जा झरनाभन्दा माथि मानव वस्ती नभएको हुँदा झरना एकदमै सफा र कञ्चन रहेको छ । पछिल्लो समय शनिबार तथा बिदाको दिन झरनामा रमाउन पर्यटकहरु धेरै जाने गरेका छन् ।

झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउनका लागि भए पनि पर्यटकहरु नर्जा झरनामा जाने गर्दछन् । झरनामा मोबाइलमा टिकटक बनाउनेहरुको पनि भीड लाग्ने गरेको छ । गर्मी छल्न समेत मानिसहरु झरनामा जाने गरेको स्थानीवासी बताउँछन् । गूर्जा र चुरेन हिमाल जाने पदमार्गअन्तर्गत पर्ने नर्जा झरनामा पुगेर रमाउन पाँउदा आफूले आनन्दको अनुभूति गर्न पाएको स्वदेशी पर्यटक नवराज मोक्तानले अनुभव सुनाउनुभयो ।

धवलागिरि गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने नर्जा झरना प्रचारप्रसार तथा भौतिक पूर्वाधार नबन्दा ओझेलमा परेको छ । पर्यटकीय सम्भावना बोकेको यस झरनामा पर्यटक लक्षित भौतिक पूर्वाधारहरु बनाउन सकेमा धवलागिरि गाउँपालिकाको पर्यटन प्रवर्द्धन हुने देखिन्छ । झरनाको पर्यटन प्रवर्द्धन गर्न आवश्यक पहल थालिएको लुलाङका वडा सचिव गिरिराज शर्माले जानकारी दिनुभयो ।   प्रताप बानियाँ

Leave a Reply