नेपाल नागरिक उड्डयन प्राधिकरणले धौलागिरि बेसक्याम्पमा अवतरण गर्ने क्रममा हेली एभरेष्टको हेलिकोप्टर दुर्घटना भएको विषयमा छानबिन गर्ने भएको छ ।

दुर्घटनाको कारण अध्ययन गर्न प्राविधिकको टोली भोलि (सोमबार) घटनास्थल जाने प्राधिकरणले जनाएको छ । आरोहीका लागि खाद्यान्नलगायत सामग्री बोकेर धौलागिरि आधार शिविर पुगेको नाइन एन-ए-एन-बी हेलिकोप्टर अवतरणका क्रममा आइतबार बिहान ११ बजेर ५ मिनेटमा दुर्घटना भएको थियो ।

हेलिकोप्टरकी चालक प्रिया अधिकारीलाई एयर डाइनेस्टीको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ । खुट्टामा सामान्य चोट लागेकी उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा परीक्षण गरिएको छ ।

अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदा पछाडिको भाग ठोक्किएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply