आउँदो शैक्षिक सत्र २०८० का लागि म्याग्दीमा नयाँ सरकारी पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्रमा विद्यालयलाई आवश्यक पर्ने पाठ्यपुस्तकमध्ये ८० प्रतिशत जिल्लामा भित्रिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनाएको छ ।

जिल्लाको कक्षा १–१० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यक पुस्तकहरु सदरमुकाम बेनीमा ल्याइएको हो । म्याग्दी सदरमुकाम बेनीमा पुस्तक बिक्री डिपो राखेर बेनीबजारबाट पालिकाको केन्द्रसम्म पाठ्यपुस्तक पठाउने तयारी गरिएको छ । म्याग्दीलाई चाहिने करिब १५ हजार सेट पुस्तकमध्ये ८० प्रतिशत जिल्लामा आएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नवराज पौडेलले बताउनुभयो ।

पुस्तक व्यवसायी महासंघको पहलमा ९० लाख रुपैयाँको लागतमा जिल्लामा सरकारी पाठ्यपुस्तक ल्याइएको छ । कक्षा १–५ को सबै पुस्तकहरु जिल्ला भित्रिएकोमा कक्षा ६–१० को ८० प्रतिशत पाठ्यपुस्तक म्याग्दी पुगेको छ । जिल्ला भित्रिएको पाठ्यपुस्तकहरु दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गरिनेछ ।

बाँकी पाठ्यपुस्तक आगामी वैशाख महिनाभित्र मगाएर विद्यालयमा पठाइने जनाइएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी कुल २ सय ६३ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply