‘म सेवा गर्छु’ भन्ने स्लोगनको व्यानर सहित नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आइतवार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनले डेकबहादुर घर्तीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

भकिम्लीको डाँडाखानीमा उद्घाटन गरी पर्यटकीय स्थल बेलढुङ्गामा समापन गरिएको अधिवेशनले उपसभापतिमा जमुना रोका,सचिवमा भोजबहादुर जिसी,कोषाध्यक्षमा पूर्णिमा जिसी,उपसचिवमा मनवहादुर पुन र उपकोषाध्यक्षमा टीका रानालाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा सरस्वती सापकोटा,क्या.जसबहादुर पुन,रुद्रबहादुर श्रीष,शेरबहादुर विक र गेमबहादुर घर्ती चयन हुनुभएको छ ।

नेपाल रेडक्रस सोसाईटी म्याग्दीका अध्यक्ष अमर बानियाँले व्यानर वाचन र बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदमबहादुर पुनले मैनवत्ति प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा २०६० साल चैत ७ गते बेनी आक्रमणका क्रममा घाइते र मृत्यु भएकाहरुको उद्धारमा रेडक्रसले खेलेको भूमिका,हिरासतमा रहँदा वा अपहरणमा पर्दा अन्तराष्ट्रिय रेडक्रस आइसिआरसिले गरेको सहयोगदेखि लिएर वैसरी पहिरो ,कोरोना काल लगाएतका विपद्जन्य परिस्थिति र मानवीय सेवाका क्षेत्रमा रेडक्रसले गरेका कामहरुको चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको रेडक्रसमा आवद्ध हुन पाउँदा गौरवान्वित हुनुपर्ने बताउनुभयो ।सेवाको भावना स्वतस्फूर्त रुपमा मनमा नआएसम्म मानवीय कार्यमा लाग्न नसकिने बताउँदै सभापति बानियाँले अरुको उपकार र समाजको सेवाका लागि बाँच्नसक्नु नै सच्चा जिन्दगी हो भन्नुभयो ।

उहाँले २०६० सालमा भएको बेनी भिडन्तका क्रममा घाइते र मृतकको उद्धारका लागि रेडक्रसको झण्डा बोकेर अग्रपंक्तिमा निस्कदा भोगेका अनुभवहरु सुनाउँदा कार्यक्रममा सन्नाटा छाएको थियो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदमबहादुर पुनले द्धन्द्ध कालमा आफूँ सेनाको हिरासतमा रहदा अन्तराष्ट्रिय रेडक्रस र म्याग्दी रेडक्रसले गरेको सहयोगको स्मरण गर्नुभयो।

उहाँले रेडक्रस मानवीय सहयोगका लागि स्थापित निश्पक्ष संस्था भएकोले राजनीति पूर्वाग्रहको गन्ध आउन नहुने बताउँदै राजनीतिक विचार जेजुकै भए पनि रेडक्रसमा समेटिए पछि तटस्थ रहेर मानवीय सेवामा समर्पित हुनसक्नुपर्छ भन्नुभयो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका उपकोषाध्यक्ष शिव वानियाँले रेडक्रसमा आवद्ध सदस्यहरुको भूमिका र सक्रियताले संस्थाको गरिमा उच्च भएको बताउँदै धन सम्पत्ति कमाउनुमात्रै जीवनको सार्थकता नभएर मानवीय सेवामा लाग्नु र अरुलाई सहयोग गर्नु नै उत्कृष्ट जीवन हो भन्नुभयो ।

रेडक्रस भकिम्लीका निवर्तमान सभापति दुर्गाराम सुवेदीले उपशाखा भकिम्लीको अवस्था र विभिन्न प्रकोपजन्य परिस्थितिमा रेडक्रस उपशाखाले गरेका कामहरुको जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा दुर्गाराम सुवेदी,डेकबहादुर घर्ती मगर, भोजबहादुर जिसी, जमुना रोका, कर्णबहादुर सुवेदी,रत्नबहादुर जिसी,क्या.जसबहादुर पुन, खिमबहादुर छन्त्याल,रेशमबहादुर छन्त्याल, पूर्णिमा जिसी र दिलबहादुर सापकोटा लगाएत ११ जना व्यक्तिहरुले स्वतस्फुर्त रुपमा रु २५ हजार सहयोग गरी विशिष्ट सदस्यता लिनुभएको थियो ।

निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यलाई नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपकोषाध्यक्ष एवम् निर्वाचन अधिकृत शिव बानियाँले पर्यटकीय स्थल बेलढुङ्गामा सपथग्रहण सहित प्रमाणपत्र र आयोजक उपशाखाको निवर्तमान सभापति सुवेदीले अतिथीहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।

Leave a Reply