समुद्री सतहदेखि २ हजार ६ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गा । चारैतिर घना जङ्गलको बिचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला ।

तर यो वर्ष चैतको अन्तिम साताको आइतवार (हिजो) बेलढुङ्गामा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका गुराँसका फूल र हरिया पात मात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकहरुले ।
लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत–वैशाख हो । लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने म्याग्दीका बन जङ्लमा यतिबेला लालीगुराँस कमैमात्र देख्न पाइन्छ ।

म्याग्दीका जङ्गलहरुमा चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन् । त्यस्तै काफल, ऐसेलु,तिजु,वनमान्द्रो लगाएतका जङ्गली फलफूल र कन्दमूलहरु पनि पनि बेमौसममा नै फलेकाले फल लाग्नुपर्ने समयमा निख्रिसकेका बेनी नगरपालिका वडा नं ३ का वडासदस्य समेत रहेका रत्न जिसीले बताए ।

फागुनको मध्यतिरबाट कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र फुल्नु पर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो संकेत नभएको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।

विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएकोउनको भनाइ छ । आइतवार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुङ्गामा पुग्नुभएका धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष बानियाँ सहितका आन्तरिक पर्यटकहरुले लालीगुराँसकै जंगलमा पुगेर पनि गुराँस देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए ।

सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फुल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै पश्चिम र उत्तरी म्याग्दीका जङ्गलमा फुलेकोले चैतमै निख्रिसकेको स्थानीयवासी बताउँछन् । विगतमा लालीगुराँस फुलेपछि चैत–वैशाखमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दथ्यो ।

‘लालीगुराँस फूल चैत–वैशाख महिनामा फूल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेकोले फुल्नुपर्ने समयमा निख्रन थालेको हो’७१ व्र्षिय डिलबहादुर सापकोटाले भने ।

लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको,जङ्गली फलफूल,कन्दमूल र अन्नबालीमासमेत यसको प्रभाव देखिएको भकिम्लीका स्थानीयवासी क्या.जसबहादुर पुनले बताए ।

‘यो वर्ष पुस अन्तिम सातादेखि नै गुराँस फुल्न र काफल पाक्न सुरु ग¥यो’वन तथा वातावरणका अध्येतावैकुण्ठ रेग्मीले भने ‘चैत–वैशाखमा फुल्नुपर्ने गुराँस पुस–माघमा फुल्नु,चैत सकिनै लाग्दा समेत उच्च हिमाली र लेकाली क्षेत्रहरुमा हिउँ नपर्नु, कन्दमूल र जंगली फलफूल नासिँदै जानु, वालीपाक्ने समयमा परिवर्तन देखिनुस्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।

विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।’ उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन् ।

त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन्।समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ ।

जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षा समयमा र नियमित नहुने, मौसमी फलफूल तथा तरकारीमा फेरबदल हुने, हिमगलन, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखा परेका वन र वातावरणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव वानियाँले बताए।

उनका अनुसार जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जङ्गलनै सुक्ने अवस्था आइरहेको छ । जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोग देखिएका छन् । जुन विश्वकै लागि एक प्रमुख चुनौतीको विषय हो ।

यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको वन डिभिजन कार्यालय म्याग्दीका नि.प्रमुख चन्द्रमणी सापकोटाले बताए ।
पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासमा घटबढ भएमा खासगरी जलवायु परिवर्तन हुने गरेको मौसमविज्ञ बताउँछन् ।

हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साईड, नाइट्रोजन, मिथेनजस्ता ग्यासको मात्रा दिनप्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुने गर्छ । जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमासमेत गम्भीर असर देखिन थालेका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

Leave a Reply