पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका महिलाले गाउँमै अचार उद्योग खोल्ने भएका छन् । दरबाङमा आयोजित एक हप्ते व्यावसायिक रुपमा अचार बनाउने तालिम लिएपछि मालिका ब्राण्डमा अचार उत्पादन गरी बजारमा बिक्री गर्ने भएका हुन् ।

मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ एकल महिला, फरक क्षमता भएका महिला तथा कोभिड प्रभावित र हिंसापीडित महिलाहरुको लागि व्यावसायिक अचार बनाउने तालिम दिइएको थियो ।

समुदायमा रहेका विभिन्न प्रकृतिका महिलाहरुलाई समावेश गरी तालिम दिएर उनीहरुलाई पेशा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको मिलन म्याग्दीले जनाएको छ ।

व्यावसायिक अचार बनाउने तालिमको समापन गदैं मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले अचार बनाउने तालिम लिएर सफल महिला उद्यमी बन्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सहभागीहरुले गाउँपालिकाभित्र अचार उद्योग स्थापनामा सघाउने बताउनुभयो ।

वडास्तरबाटै सहभागीको रुपमा महिलाहरु छनोट गरी तालिममा समावेश गरिएकाले वडास्तरमा उद्योग स्थापना गरी पालिकास्तरबाट बजारीकरण गर्नुपर्नेमा अध्यक्ष गर्बुजाको जोड थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले महिलाहरुलाई लक्षित गरेर सञ्चालित तालिम राष्ट्रपति महिला उत्थान अन्तर्गतको एउटा कार्यक्रम भएको बताउनुभयो । तालिमको अवधिभरमा सिकेका ज्ञान, सिपलाई आउँदो दिनमा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले तालिम लिएर महिला दिदीबहिनीहरु व्यावसायिक अचार उत्पादनको काममा लाग्नुपर्ने बताउनुभयो । आगामी आर्थिक वर्षका लागि वडास्तरबाटै सिपमूलक तालिमहरु सञ्चालन गर्न आवश्यक योजना बनाएर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष पुनको अध्यक्षता र व्यवस्थापन संयोजक सुमित्रा गैरे पौडेलको सञ्चालनमा सम्पन्न तालिमको मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापालेले बोल्नुभएको थियो ।तालिमको धवलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङबाट प्रशिक्षक प्रदीप गौतमले सहजीकरण गरिरहनुभएको थियो ।

गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी समेत गर्न सकिने मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमायाँ विटालुले बताउनुभयो ।

सहर तथा बजारका होटल र रेष्टुरेण्टहरुमा अन्य जिल्ला र विदेशबाट अचार आउने गरेकोमा अव स्थानीयस्तरबाटै उत्पादन गर्ने सहभागीले सामुहिक प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply