लामो समयदेखि पटक-पटक म्याद थप गरिएपनि अलपत्र परेका म्याग्दीक ठूला विकास योजनाको अलपत्र कामले गति लिएको छ ।

म्याग्दी जिल्लाका लाइफलाइन मानिने योजना निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेपछि लगातारको ताकेता र ठेक्का तोड्ने, कालोसूचीमा राख्ने चेतावनीपछि ठेकेदार काममा फर्किएका छन् । संघ र प्रदेश सरकारमार्फत सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका रोकिएको काम सबैतिर सुरू भएको पुर्वाधार कार्यालय म्याग्दीले जनाएको छ।

जिल्लाको विकासमा ठूलो महत्व राख्ने योजनामध्ये गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरोला, पश्चिम म्याग्दी हुदै रुकुम जोड्ने मध्पहाडी लोकमार्गको बैकल्पिक बेनी–दरवाङ,दरबाङ–धारापानी सडक, गलेश्वर–भगवती, बेनी–बागलुङ,बेनी अस्पताल,अलपत्र म्याग्दीभित्रका पक्की पुलको काम सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए।

‘पटकपटक समय थपिए पनि निर्माण व्यवसायीले योजनालाई पूर्णता नदिएपछि अन्तिम विकल्प खोज्दै थियौं, अहिले सबै काममा फर्किएका छन्’ अब रोकिए ठेक्का नै रद्ध र कालोसूची नै अन्तिम विकल्प हो’ प्रमुख अधिकारीले भने ।

एक स्थानीय तह एक आधारभूत अस्पताल योजनाअन्तर्गत मंगला र धवलागिरि गाउँपालिकामा निर्माणाधीन भवनलाई समेत समयमै सम्पन्न गर्न प्रकृया अगाडी बढेको छ।कार्यालय प्रमुख अधिकारीका अनुसार एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत आठ किलोमिटर कालोपत्रे गर्ने रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती सडकको अनुमगन सहितको कार्य भइरहेको बताए ।

बेनी–दरवाङ सडकअन्तर्गत सिमलचौरदेखि लाम्पाटासम्मको कामले गति लिएको छ भने लाम्पाटा–दरवाङ खण्डकको काम रोकिएको अवस्थामा ठेकेदारलाई अल्टिमेटम सहित काममा फर्किन पत्रचार गरिएपछि अहिले काम सुरु भएको छ । अव कुनैपनि म्याद सकिएको आयोजनाको म्याद थप नगरिने समेत पूर्वाधार कार्यालयले जनाएको छ ।

जिल्लामा अलपत्र योजनाका निर्माण व्यवसायीलाई काममा फर्काउन प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजा, प्रदेशसभा सदस्यहरू रेशम जुग्जाली, हरिबहादुर भण्डारी, विमला गौचन, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत स्थानीय तहका जनप्रतिनिधिसमेत सक्रिय भएका छन् ।

निर्वाचित संघ र प्रदेशका सांसद तथा जिल्लाका नेताले विकास योजना कार्यान्वयनलाई गति दिन कार्यालय र निर्माण ब्यवसायी बीचको प्रतिबद्धता कार्यान्वयन तथा प्रतिबद्धता पूरा गर्न आनकानी गर्नेको ठेक्का रद्ध, धरौटी जफतसम्मको पत्र पठाइएपछि ठेकेदार त्रसिएर काममा फर्किएसँगै अहिले अपुरो योजनाले गति लिएको छ ।

 

Leave a Reply