म्याग्दी जिल्ला भलिबल संघले १५ वटा राष्ट्रहरुमा म्याग्दी अन्तराष्ट्रिय सम्पर्क समिति र सल्लाहकार चयन गरेको छ ।

विश्वभरी प्रवासमा रहेका भलिबल खेलप्रेमी तथा समाजसेवी म्याग्देलीहरुलाई खेलकुदको माध्यम बाट एक ठाउँमा जोड्ने र जिल्लामा ग्रासरुट जुनियर लेभल बाट नयाँ युवाहरु लाई खेलकुदमा आकर्षित गर्ने प्रवाससम्म सञ्जाल विस्तार गरिएको जिल्ला भलिबल संघले जनाएको छ ।

समितिमा ८ जना सल्लाहकार र ३७ जना कार्यसमितिका संयोजक र उपसंयोजक रहनेछन् । संघका अध्यक्ष तेजेन्द्र बानियाँका अनुसार म्याग्दी भलिबलको क्षेत्रमा नेपालमै लोकप्रिय जिल्लाभित्र पर्ने भएकाले खेलको माध्यमबाट लुकेका प्रतिभाको पहिचान गरी प्रोत्साहन गर्ने बताए ।

उनले कुलत लागुपदार्थ सेवन जस्ता गतिविधिबाट जोगाउन,अनुशासित लगनशिल मेहनती र स्वस्थ नागरिक उत्पादन गर्दै सकरात्मक समाज रुपान्तर गरि सभ्य र स्वस्थ समाज निर्माणको अभियानलाई मुख्य उदेश्य रहेको बताए । प्रवास समितिबाट आर्थिक तथा अन्य सहयोग संकलन गरी खेलकुद गतिविधिलाई नियमित सञ्चालन गर्ने बताए ।

प्रवास समितिसँग विभिन्न समयमा बैठक तथा अन्य गतिविधि सञ्चालन गरिने छ । उमेर समुहको भलिबल प्रतियोगीता आयोजना गर्ने सम्भावना बोकेका म्याग्दी जिल्ला भित्रका सबै युवा खेलाडीहरु लाई समेटने गरि छनोट गरि जुनियर युवाहरुलाई प्रत्यक वर्ष दक्ष भलिबल प्रशिक्षकबाट प्रशिक्षण तालिम दिने भलिबल संघले जनाएको छ ।

प्रवासमा सञ्जाल विस्तारलाई आवश्यकता अनुसार निरन्तरता दिने योजना रहेको छ । विश्वभर जहाँ म्याग्देली छन् त्यहाँ भलिबलको सञ्जाल पुर्याउने संघका सचिव कुमार किसानले बताए ।

यसअगाडी संघले जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता गर्न गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० बर्षे सम्झौता गरेको थियो ।

कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर गदैं कोषले बार्षिक २ लाख नगद उपलब्ध गराउने सहमति समेत भएपछि प्रवास समिति विस्तारले थप भलिबल खेललाई प्रोत्साहन मिल्ने छ ।

 

Leave a Reply