म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौरका खिमबहादु पुनको दुवै हात छैन । उनले आफ्नो गाउँका घरहरुमा उज्यालो भर्ने काम गर्थे तर अहिले उनकै जिन्दगी आँधारोतर्फ धकेलिएको छ । पोखरामा रहेको ब्लु हेवन सेक्युरीटी एण्ड वर्कर सर्भिसेजबाट करीब २ बर्षसम्म खिमले पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिका भित्र विद्युतको काम गरे ।

यस बापत उनले मासिक १२ हजार ५ सय पाउँथे । रोजगारी भन्दा पनि आफ्नै गाउँका घरहरू उज्यालो बनोस् भन्ने चाहना थियो तर २०७७ बैशाख १२ गते कामकै शिलशिलामा लागेको करेन्टले यो अवस्था बन्यो।

जीवन साथीले समेत छोडेर गइन्

दुवै हात गुमाउनुपर्ला भनेर कल्पना पनि गरेका थिएनन् । तर, नसोचेकै भइदियो ।बैशाख दोस्रो सातादेखि उनी अप्ठेरो जीवन बाँचिरहेछन् ।परिवारले उनलाई केही दिनमै पोखरा हुदै काठमाण्डौमा पु¥याए ।

जतिसक्दो छिटो अस्पताल पुग्ने प्रयास नगरेका होइनन् । तर, चिकित्सकले थप क्षतीको जोखिमले हात नै काटेर फाल्नुको विकल्प नरहेको उनका दाजु कर्णबहादुरले बताए । श्रीमान र श्रीमती भनेको एक रथका दुई पांग्रा भएकाले विवाह गरेपनि करिब ६ महिनापछि सम्बन्ध बिच्छेद भयो ।

श्रीमतीसँग भावनात्मक सम्बन्धका अनेक उपाय खोजेपनि सफल भएनन् । खाना खानेदेखि शौचालय जान सघाउने उदेश्यले विवाह समेत गरेका थिए । जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको सम्बन्ध बिच बाटोमै आएर तोडिएपछि अवको यात्रा झनै कष्टकर बन्दै गएको छ ।

‘गुमेको हात देखाएरै विवाह गरेको थिए,‘केहीमहिना राम्रो सम्बन्ध थियो, हातले जस्तै श्रीमतीको समेत साथ पाइन, मैले उनको चाहनामै सम्बन्धबाट अलग भए’ खिमबहादुरले भने। आर्थिक रुपमा विपन्न खिमबहादुरले दुखको गाँठो फुकाउँदै औषधी उपचार सहित अन्य खर्चमा सहयोगको आवश्यकता रहेको बताए ।

जागिर गयो, विमावापत ७ लाख पाए पनि उपचारमै सकियो। विद्युत प्राधिकरणले सहयोग गर्ला कि भन्ने उनको आशा, आशामै सिमित छ । यता विद्युत प्राधिकरण भने आफुहरु ठेकेदारमार्फत अस्थायी कर्मचारी राख्ने गरेकाले यसको बिषयमा ठेकेदार कम्पनी नै जिम्मेवार हुने बताउँछ ।

कम तलवमा ज्यानकै बाजी राखेर विद्युतको क्षेत्रमा काम गरिरहेका तल्लो तहका प्राविधिकको सुरक्षा संवेदनशीलतामा विद्युत प्राधिकरण र ठेकेदार कम्पनीहरु दुवै गम्भिर बनेको देखिदैंन ।

प्राधिकरणसंग खिमबहादुर जस्तै अन्य ठाउँमा काम गर्दा गर्दै कति अंगभङ्ग हुन पुगे र कतिले ज्यानै गुमाए भन्ने तथ्यांक समेत छैन । विद्युतको प्राविधिक कर्मचारीहरुका समस्यामा प्राधीकरण र ठेकेदार दुवैले एकले अर्काेलाई देखाउँदै तर्किने रहेका छन् ।

Leave a Reply