जन्मिँदा साङ्ग जन्मिएर किशोर अवस्थामा द्वन्द्वकालमा घाईते भएका सुरेन्द्र खत्री डेढ दशकदेखि अपाङ्गताको क्षेत्रमा अहोरात्र खटिएका छन्।अपाङ्गता सम्बन्धी क्षेत्रमा विभिन्न काम गर्दै आएका मंगला गाउँपालिका-२,बावियाचौर सल्यानका ३५ वर्षीय सुरेन्द्र खत्रीले बि.स २०६३ असारमा दुवै हात गुमाए ।
घाँसदाउरा गर्न जंगल छिरेका खत्री फर्किने बेलामा कालो प्लास्टिक भित्रको पोको सकेट बम भनेर नचिन्दा घाइते भए । माओवादीको जनयूद्धको बेला बेनी आक्रमणमा द्वन्द्वरत पक्षले छोडेकोे सकेट बम विस्फोट भएर गम्भीर घाईते भएका खत्री होसमा आउँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा दुबै हात काटेको अवस्थामा देखेर छांगाबाट खसेजस्तै भए ।
भारतीय आर्मी भन्ने सपना बुन्दै १२ कक्षा पढेका खत्री ३९ जिटिसी (गोरखा तालिम सेन्टर) मा भर्ना हुन गेट पास लिएका थिए। केही दिनपछि आफुँ घाइते र हात नभएको अवस्थामा ब्युझिदाको कारुणिक क्षण सम्झिदा अझै खत्री पहाड खचेर थिचेजस्तै भएको छ ।
कक्षा १२ सम्मको औपचारिक अध्ययन मंगला माध्यमिक विद्यालयबाट गरेका खत्रीले दुईबर्ष गोजीबाट हात निकालेनन् । जिन्दगीमा आकाशबाट पतालमा झरेका खत्री द्धन्द्धका समयमा परिवारजन गुमाएका, आफन्त वेपत्ता भएका र अपाङता भई अधुरा सपना बोकेकाहरुको लागि उदाहरणीय पात्र भएका छन् ।
उनले देशभरका विभिन्न जिल्लामा पुगेर कार्यक्रम समेत गरेका छन्। आफुँले भोगेको पीडाको भारी लिएर कर्णालीको यात्रा सहित दैनिकजसो अपाङ्गताकै क्षेत्रमा सक्रिय छन् ।
द्धन्द्धपिडितहरुको राष्ट्रिय संजालका अध्यक्ष, अपाङ्ग संघ म्याग्दीको सचिव रहेका खत्री विभिन्न संघ संस्थाहरुको सहयोगमा अपाङता भएकाहरुको हकअधिकार सुनिश्चिता र सरकारको ध्यानाकर्षणका लागि आफनो गतिविधीहरुमा सक्रिय छन् ।दुवै हातका नाडीमुनिको भाग काटेपछि उनको सपना खोलामा पानी बगेजस्तै गरी बग्यो भने जिन्दगीका नमिठो संघर्षका यात्रा सुरू भए ।
‘मेरा दुवै हातका नाडीमुनिको भाग काटेपछि दैनिकी फेरियो, अहिले अपाङ्गता भएकाले भोगेको समस्यालाई समाधान गदैंछु’ खत्रीले भने ।नमिठो संघर्षका यात्राले अहिले उर्जा थपिएको उनले बताए ।बेनी नगरपालिका–९ की गोरी दर्जीले रूखबाट लडेर खुट्टा गुमाएपछि कष्टकर जिवन विताईन् । २०६३ सालमा स्याउला लिन रूख चढ्की दर्जी चिप्लिएर जमिनमा खसेपछि जीवनले अर्को मोड लियो ।
अपाङ्ग संघ म्याग्दीको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा चयन भएकी दर्जी गएको स्थानीय तहमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएर कार्यपालिका सदस्य समेत भईन् । छुवाछुत बिरुद्ध गाउँमै विद्रोह गरेकी दर्जीको काँधमा अपाङ्गता भएकाहरूको हकहितमा काम गर्ने अवसर समेत मिलेको छ ।
शारीरिक रूपमा कमजोर हुँदैमा निराश र चिन्तित हुनु पर्दैन बरु मानसिक रूपमा दरलो बन्दै अगाडि बढ्ने हो भने समाजको नै अगुवा बन्न सकिन्छ भन्ने उदाहरण हातखुट्टा कृत्रिम तर दरिलो आत्मबल भए पुग्छ भन्ने उदाहरण दर्जी हुन् ।
दलित तथा महिलासम्बन्धी कार्यक्रममा कृत्रिम खुट्टा प्रयोग गरी गाउँदेखि सहरसम्मका कार्यक्रममा पुग्ने गरेकी दर्जीको दरिलो आत्मबल र सक्रियताका कारण गाउँका सामाजिक कार्यमा लागेकाहरूले समेत सहयोग गर्न थालेका छन् । ‘कृत्रिम खुट्टा भए पनि यो लगाउँदा नक्कलीजस्तो लाग्दैन,‘मेरो सक्रियताले नयाँ पुस्ताले मलाई अपाङ्ग भन्दैनन्’ दर्जीले भनिन् । उनले अपाङ्गता भएकाले समेत आफ्नो परिचय लुकाएको देख्दा अचम्म लाग्ने गरेको बताईन् ।
उनले जातिय छुवाछुत र अपाङ्गताको क्षेत्रमा सक्रिय भएर काम गर्ने बताईन् । ‘पढे–लेखेकामा समेत चेतना अभावले हुने भेदभाव त झन बढी रहेको छ,‘ अब जिम्मेबारीमा बसेर विभेद र अपाङ्गतामाथि हुने अपमान तोड्न पर्छ’उनले भनिन्। अपाङ्ग संघ म्याग्दीबाट आगामी दिनमा जिल्लाका सबै क्षेत्रमा रहेकालाई समेट्दै अगाडी बढ्ने बताईन् ।
विगतमा आँसुमै बित्ने दिनहरू अहिले सामाजिक क्षेत्रको अगुवाइमा विताउन थालेपछि बहिरा, बौद्धिक, सुस्त,न्यून दृष्टियुक्त, पूर्ण दृष्टिविहीन स्वर र बोलाइ, मानसिक वा मनोसामाजिक,बौद्धिक, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिज्म लगायतका समस्या भएका समेत खुल्न थालेका छन् । जनगणना २०७८ मा २८ सय ३ पुरुष र २४ सय ९७ महिला गरी ५३ सय रहेको देखाएको छ ।