म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब तीस लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो ।

धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको जानकारी दिए ।  ‘ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मूर्ति बनाइएको हो,’उनले भने, ‘काठमाडौबाट मूर्ति ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मूर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।’

मूर्ति स्थापनाका लागि धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा तीन लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको थियो । मूर्ति स्थापनाका लागि २९ लाख २७ हजार ५०० रुपैयाँ खर्च भएको र दाताबाट २४ लाख ४० हजार रुपैयाँ सहयोग जुटेको छ ।

अमेरिकामा रहेका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग संकलन गरिएको थियो । उनका अनुसार दाताले घोषणा गरेको थप ७ लाख २६ हजार १११ प्राप्त हुन बाँकी छ । सहयोग दाताको नाम शिलालेख बनाएर राखिने भएको छ ।

टाढाबाट देखिने गरी हनुमानको मूर्ति राखिएको छ । हनुमानको मूर्तिको पृष्ठभूमिमा धौलागिरि,अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारहरूले पितृ उद्धारका लागि प्रवेशद्धार निर्माण गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि ८० लाख रुपैयाँ चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुननिर्माण भएको थियो । १५ लाख रुपैयाँ खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ । सोहै औं शताब्दीमा निर्माण भएको ताकमकोत वि.स १९९० र २०७२ को भूकम्पका कारण जिर्ण बनेको थियो ।

ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजना अनुसार पहिलो कोतघर,अन्नपूर्ण–जगन्नाथ मन्दिर,सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।

ताकमकोतको पूर्वाधार निर्माणमा धवलागिरी गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब १ करोड ५० लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ ।

जगन्नाथ,अन्नपूर्ण,दुर्गालगायत देवी देवताको मू्र्ति रहेका यहाँ नवदुर्गा,जेष्ठी पूर्णिमा,मंसिर पूर्णिमा,चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप,तरबार,खुँडा,खुकुरी, ढाललगायतका हातहतियार छन् ।

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट गुर्जा,धौलागिरि,निलगिरि,अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भूगोल,ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । Annapurnapost.com

Leave a Reply