मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजना गाउँगाउँमा भित्रिँदासमेत बसाइँसराइ बढ्दो क्रममा देखिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् ।

सडक, पदमार्ग, सिँचाइ, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका पूर्वाधार निर्माण हुने क्रम बढ्दो छ । एक नगरपालिकासहित पाँच गाउँपालिका रहेको म्याग्दीमा पाँच गाउँपालिकाको केन्द्र नयाँ बजार विस्तारको चरणमा पुगिसकेका छन् ।

जिल्लामा भौतिकपूर्वाधारको विकास हुने क्रम बढिरहेको सन्दर्भमा जिल्लाबाट अन्यत्र बसाइँसराइ गर्ने क्रम बढ्दो छ । जिल्लाभित्रका पाँच गाउँपालिकाबाट सदरमुकामसमेत रहेको बेनी बजारमा थोरै मात्रामा बसाइँसराइ गर्ने गरेका छन् भने समग्र जिल्लाबाट पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत क्षेत्रमा बसाइँसराइ गर्ने गरेको पाइएको छ । जिल्ला सदरमुकाम बेनीबजारस्थित रहेको बेनी नगरपालिकामा आन्तरिकरूपमा जिल्लाका अन्य स्थानीय तहबाट बसाइँसराइ गरी आउनेभन्दा यहाँबाट जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङख्या बढी देखिएको छ ।

आव २०७८/७९ मा बेनी नगरपालिकामा तीन सय ११ सदस्य बसाइँसराइ गरी आएका थिए भने यस नगरपालिकाबाट चार सय ४२ सदस्य यहाँबाट बसाइँसराइ गरी अन्यत्र गएको पाइएको छ । नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार चालु आवको चैत तेस्रो सातासम्म बेनी नगरपालिकामा एक सय ३२ सदस्य बसाइँसराइ गरी आएका छन् भने यहाँबाट दुई सय ४२ सदस्य बाहिरिएका छन् । जिल्ला सदरमुकाम बेनी रहेको बेनी नगरपालिकामा जिल्लाका पाँचवटै गाउँपालिकामा बसाइसराइको दर उच्च छ । वैदेशिक रोजगारका कारण युवायुवती विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइँसराइ गर्ने प्रचलन छ ।

रघुगङ्गा गाउँपालिका–८ चौरखानीका स्थानीय शिक्षक चन्द्रमान छन्त्यालले बसाइँसराइले गाउँ रित्तिदै गएको बताउनुभयो । “पहिले यस ठाउँ दुर्गम थियो, गाउँ भरिभराउ थियो, अहिले विकासका पूर्वाधार र सुविधा गाउँघरमा थपिँदै गएका छन्, तर गाउँ रित्तिँदै गएको छ”, उहाँले भन्नुभयो । गाउँमा स्वास्थ्य र शिक्षाको गुणस्तर नहुँदा बजारतर्फ बसाइँसराइ गर्ने दर बढिरहेको छ । रघुगङ्गामा चालु आवको हालसम्म आठ परिवारका १२ सदस्य बसाइँसराइ गरी आएका छन् भने ३५ परिवारका एक सय १४ सदस्य यस पालिकाबाट अन्यत्र बसाइँसराइ गरेर गएका छन् ।

यस पालिकामा गत आर्थिक वर्षमा ३८ सदस्य बसाइँसराइ गरी आउँदा एक सय ८३ सदस्य पालिकाबाट अन्यत्र बसाइँसराइ गरी गएको गाउँपालिकाका पञ्जीकरण शाखाका वसुता पुनले जानकारी दिनुभयो । पालिकामा बसाइँसराइ गरी आएको सङ्ख्या आन्तरिक बसाइँसराइ रहेको जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकामा चालु आवको हालसम्म २४ सदस्यले आन्तरिक बसाइँसराइ गर्दा एक सय ४७ सदस्यले पालिकाबाट अन्यत्र बसाइँसराइ गरेको देखिएको छ । मङ्गला गाउँपालिकामा यस आवको हालसम्म १३ परिवारका ४३ सदस्यले बसाइँसराइ गरेर आउँदा ४५ परिवारका एक सय ६० सदस्य अन्यत्र गएको देखिएको छ । पञ्जीकरण शाखाका लेकनाथ सापकोटाका अनुसार गत वर्ष मङ्गलाबाट १९ परिवारका ८३ सदस्य पालिकाभित्र बसाइँसराइ गरेर आउँदा ८२ परिवारका तीन सय पाँच जना अन्यत्र गएका छन् ।

मालिका गाउँपालिकामा यस वर्षको हालसम्म १२ परिवारका ३१ सदस्य बसाइँसराइ गरेर आउँदा ३२ परिवारका एक सय २४ सदस्य अन्यत्र बसाइँसराइ गरेका छन् । जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तहका रूपमा परिचित धवलागिरि गाउँपालिकामा आन्तरिकरूपमा न्यून सङ्ख्यामा बसाइँसराइ हुने भए पनि यहाँबाट बाहिर जानेको सङ्ख्या ठूलो छ । यस पालिकामा चालु आवको हालसम्म छ परिवारले पालिकाभित्र नै आन्तरिकरूपमा बसाइँसराइ गर्दा यहाँबाट अन्यत्र ६७ घर परिवारले बसाइँसराइ गरिसकेका छन् ।रासस

Leave a Reply