अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा वडा नम्बर ४ नारच्याङ एक स्वर्ण र एक रजत पदक जित्दै उपविजेता भएको छ ।

बिजेता शिखले महिला भलिबल, पुरुष बास्केटबलमा स्वर्ण र प्रौद्ध भलिबलमा रजत पदक जितेको छ । उपविजेता नारच्याङले पुरुष भलिबलमा स्वर्ण र महिला भलिबलमा रजत पदक जितेको गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले जानकारी दिनुभयो ।

महिला भलिबलमा शिखले नारच्याङलाई १ का विरुद्ध ३ सेटले पराजित गरेको हो । पहिलो, दोस्रो र चौथो सेट शिखले २५–१८, २५–१७, २५–१८ अन्तरले जित्यो । तेस्रो सेटमा नारच्याङले शिखलाई २३–२५ अन्तरले जितेको थियो ।

पुरुष वास्केटबलमा शिखले वडा नम्बर ८ राम्चेलाई ६२ का विरुद्ध ७६ स्कोरले जित निकालेको थियो । प्रौद्ध भलिबलमा वडा नम्बर ७ हिस्तानले शिखलाई २ का विरुद्ध ३ सेटले जित्यो । हिस्तानले दोस्रो, तेस्रो र पाँचौ सेट २५–२०, २५–१६ र १५–९ अन्तरले जितेको हो । शिखले पहिलो र चौथो सेट २५–२२ र २०–२५ अन्तरले जित्यो ।

पुरुष भलिबलमा नारच्याङले वडा नम्बर ६ घारलाई १ का विरुद्ध ३ सेटमा पराजित गर्‍यो । नारच्याङले दोस्रो, तेस्रो र चौथो सेट २५–११, २५–२२ र २५–१९ अन्तरले जितेको छ । पहिलो सेट घारले नारच्याङलाई २६–२४ अन्तरले जितेको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष, महिला भलिबल, पुरुष वास्केटबल र प्रौद्ध भलिबल खेलमा ८ वटा वडाबाट छनौट भएका खेलाडीहरु सहभागी भएका थिए । प्रत्येक बिधामा प्रथम र दृतीय हुने वडाले रु. ३० हजार र २० हजारका दरले पुरस्कार प्राप्त गरेका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

खेलाडी सहभागिताका लागि प्रत्येक वडालाई रु. ५० हजारका दरले अनुदान दिइएको थियो । वास्केटबलमा शिखका निर्मल पाईजा, पुरुष भलिबलमा नारच्याङका सुविन चोचाङ्गी, महिला भलिबलमा शिखका मनिषा पुन र पौद्ध भलिबलमा हिस्तानका याम बहादुर पुनलाई उत्कृष्ट खेलाडी घोषणा गरिएको थियो ।

बिजेता र उपबिजेतालाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष मइलन पुर्जा, रामबहादुर खड्का, लोकबहादुर फगामी, राजेश तिलिजाले कप, मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

“लामो समयसम्म मेला सञ्चालन भइरहेको अवस्थामा अध्यक्ष कप प्रतियोगिता मार्फत गाउँपालिकाले व्यवस्थित र समय तालिका अनुसार खेल सञ्चालन गर्ने हो भने समयमै सम्पन्न गर्न सकिने सन्देश दिन सफल भएका छौ,” अध्यक्ष पुनले भन्नुभयो “खेलकुदको विकासका लागि प्रतियोगिताहरुलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्छ ।”

हिस्तानका वडा अध्यक्ष मइलन पुर्जाले प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रतियोगिता समापन समारोहमा हिस्तानकी महिला भलिबल खेलाडी सजिना बुढाथोकीलाई हाल बेलायतमा रहनुभएका घराम्दीका धनबहादुर पाईजाले व्यक्तिगत रुपमा रु. २५ हजार प्रोत्साहन रकम प्रदान गर्नुभएको थियो ।

यसैगरी हिस्तानको महिला भलिबल टिमलाई वडा कार्यालयबाट रु. १५ हजार र टोलहरुबाट रु. ३० हजार गरि एकमुष्ट ४५ हजार प्रदान गरिएको थियो । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएका अन्नपूर्ण गाउँपालिकाका महिला भलिबल खेलाडी शस्मी पुन, मनिषा तिलिजा र पुरुष वास्केटबलका खेमराज पुनलाई रु. पाँच/पाँच हजारका दरले सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा भएको नृत्य प्रतियोगितामा घराम्दीका एन्जल राम्जाली प्रथम, नागीका सिमा पुर्जा दृतीय, घराम्दीका उत्तम पुर्जा र नागीका नानुमाया पुन तृतीय हुनुभएको थियो । नृत्यमा प्रथम, दृतीय, तृतीय हुनेलाई बेलायतबाट धनबहादुर पाईजाले पठाउनुभएको क्रमश रु. पाँच हजार, चार हजार र पन्ध्र/पन्ध्र सय प्रदान गरिएको थियो ।

Leave a Reply